11.1 C
Kathmandu
Friday, December 1, 2023
spot_img

नेपालमा टायल उत्पादन सुरु

नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ ।

यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याउनुभएको हो । भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा ल्याइएको हो ।

यसै वर्षबाट उत्पादन बजारमा आएको हो । नेपाल सेरामिक इण्डष्ट्रिज प्रालिले नेपोभिट ब्राण्डमा टायल उत्पादन गरेको छ । उद्योगका प्रबन्ध निर्देशक मनोज रौनियारका अनुसार हाल टायललाई आवश्यक पर्ने ५० प्रतिशत माटो नेपालकै प्रयोग गरिएको छ । केही महिनापछि नै पूर्णरुपमा नेपाली माटोबाटै टायल उत्पादन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । बारा, मकवानपुर र दोलखा लगायतका जिल्लाबाट माटो ल्याएर उत्पादन गरिएको छ । दश बार प्रकारको माटो त्यहाँबाट ल्याएर परीक्षण गर्दै प्रयोग गरिएको छ । टायलमा प्रयोग गरिने रङ र ग्लेज भने विदेशबाट आयात गर्ने गरिन्छ ।

सुरुको तीन महिना पूरै माटो भारतको राजस्थानबाट ल्याइएको भए पनि क्रमशः नेपाली माटोको खोजी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक हजार दुई सय डिग्री तापक्रम दिँदा भारतीय माटो ३२ प्रतिशत पग्लियो भने नेपाली माटो ४५ प्रतिशत पग्लियो । नेपाली माटो टायलका लागि उत्तम देखियो ।”

भारतीय माटोबाट बनाइएको टायलले तीन सय ५० केजी भार थेगेको भन्दै उहाँले नेपाली माटोबाट बनेको टायलले चार सय ३० केजी भार थेगेकाले यहाँको माटो गुणस्तरीय देखिएको रौनियारले बताउनुभयो । भारतबाट ल्याएको माटो उद्योगसम्म आइपुग्दा प्रतिकिलो रु आठ पर्छ भने नेपाली माटो रु तीनमा उद्योग आइपुग्ने उहाँको भनाइ छ ।

उद्योगले महिनामा सात हजार दुई सय टन माटो खपत गर्दै आएको छ । झण्डै तीन वर्षअघि उद्योगको काम थाल्दा गरिएको अध्ययनमा हरेक वर्ष रु ३० अर्बको टायल विदेशबाट आयात हुँदै आएको बताउँदै आफूहरुले त्यसको १० प्रतिशत आयात विस्थापन हुने गरी उत्पादन थालेको रौनियारले बताउनुभयो । अहिले उद्योगले मासिक रु २० करोड हाराहारीका तीन सय ५० डिजाइनका टायल उत्पादन गरेर बिक्री गर्दै आएको छ । देशका सबै क्षेत्रमा टायल पुगिसकेका छन् । विदेशी टायल ल्याएर देशैभरि बिक्री वितरण गर्ने ठूलो सञ्जाल सञ्चालकको रहेकाले बजार पु¥याउन सहज भएको हो ।

पहिलो चरणमा भुईँमा बिछ्याउने फरक–फरक साइजका टायल उत्पादन भएका छन् । उद्योगका अध्यक्ष शम्भुनाथ झाका अनुसार भारतीय ब्राण्डेड टायलभन्दा राम्रो गुणस्तरमा उद्योगले उत्पादन थालेको छ । छिट्टै भित्तोलगायतका ठाउँमा लगाउने फरकफरक खालका टायलसमेत उत्पादन गर्ने योजना रहेको झाले बताउनुभयो ।

पाँच बिघा १२ कट्ठा जमिनमा रु एक अर्ब ५० करोडभन्दा बढी लगानी गरेर उद्योग सुरु गरिएको हो । उद्योगमा चार सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सुरुमा भारतबाट एक सय ५० जना प्राविधिक कामदार ल्याइएकोमा अहिले घटाएर एक सयमा झारिएको छ । यो सङ्ख्या क्रमशः घटाउँदै लैजाने उहाँले बताउनुभयो ।

अध्यक्ष झाले भन्नुभयो, “हामीले उद्योग सुरु गरेसँगै अन्य व्यवसायीले पनि उद्योग सञ्चालनको तयारी गरेका छन् । यही ढङ्गले अघि बढेमा पाँच÷सात वर्षपछि नेपाल टायलमा आत्मनिर्भर हुन्छ ।” सम्पूर्ण उपकरण इटलीमा बनेको भन्दै उहाँले भारतीय उत्पादनभन्दा गुणस्तरीय उत्पादन आफूले गर्दै आएको बताउनुभयो । उहाँका अनुसार उपकरणका लागि मात्रै रु ७० करोडभन्दा बढी खर्च भएको छ । उत्पादन गुणस्तरीय र मूल्य सस्तोमा बिक्री गर्न सकेको उहाँ बताउनुहुन्छ ।

सुरुआती समय सम्झँदै उहाँले भन्नुभयो, “साथीभाइ र परिवारका मानिसले पनि यिनीहरुले सही काम गरेनन् भन्थे, अहिले सबै दङ्ग छन् ।” आफूहरुले निकै चुनौती मोलेर काम गरेको जनाउँदै उहाँले कच्चा पदार्थ र बजारीकरणमा आवश्यक सहयोग सरकारले गर्नुपर्ने बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles