ककनी गाउँपालिकाले फोहोर बोकेर आएका टिपरसँग प्रवेश शुल्क लिने भएपछि काठमाडौंवासीले फोहोर उठाउनेलाई थप पैसा तिर्नुपर्ने भएको छ।
नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौंबाट फोहोर बोकेर आएका टिपरबाट १५ सय रुपैयाँसम्म प्रवेश शुल्क उठाउने गरी आर्थिक विधेयक पारित गरेको थियो। उक्त विधेयक पारित भएपछि काठमाडौंमा फोहोर उठाउनेले २० देखि २५ प्रतिशतसम्म शुल्क बढाउन लागेका हुन्।
गत असार १९ गते पारित आर्थिक विधेयक साना प्रतिगाडी एक हजार रुपैयाँ र ठूला प्रतिगाडी १५ सय रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरिएको छ। आगामी साउन १ गतेबाट फोहोर बोकेका गाडीसँग प्रवेश शुल्क उठाउन थालिने गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए। फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले ककनी गाउँपालिकाले विधेयक कार्यान्वयनमा ल्याए उत्सर्जनकर्ताले अहिले दिइरहेको मूल्यमा २० देखि २५ प्रतिशतसम्म बढ्न सक्ने बताए।
ककनी गाउँपालिकाले पारित गरेको विधेयक फोहोरमैला व्यवस्थापन ऐन २०६८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ प्रतिकूल छ। गाउँपालिकाले त्यसरी व्यवस्थापनका लागि गएको फोहोरबापत् कर उठाउन पाउँदैन,यो विधेयक कार्यान्वयनमा आए २० देखि २५ प्रतिशतसम्म फोहोरको मूल्य बढ्न सक्छ। उनले यसबारे संघले बैठक बसेर निर्णय लिने पनि बताए।
ककनी गाउँपालिकाले आर्थिक विधेयक पारित गरेर फोहोरमा कर लगाउने निर्णय गरेपछि हामीले उपत्यका नगर फोरमका अध्यक्ष चिरिबाबु महर्जनसँग कुराकानी गर्न खोजेका थियौं। तर, समय पाएका छैनौं। यही विषयमा कुराकानी गर्न आज हामी संघको बैठक बस्दै छौं, उनले यसबारे अदालतमा मुद्दा पनि पर्न सक्ने बताए।
अत्यावश्यक सेवामा पनि कर लगाउने गरी गाउँपालिकाले आर्थिक ऐन पारित गरेको छ। हाम्रो कुरा उपत्यका नगर फोरमले नै अदालतको ढोका ढक्ढक्याओस् भन्ने हो। नभए हामी नै अदालत गुहार्छौ।