काठमाडौं । दुर्घटना गराएर फरार भएका झाँक्री भनिने प्रकाश भुजेल पक्राउ परेपछि हिरासत छन् । प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका उनको साथमा सवारी चालक अनुमति पत्र नपाइएको प्रहरीले जनाएको छ । भुजेलको सवारी चालक अनुमति पत्र (लाइसेन्स)माथि अहिले प्रहरीले अनुसन्धान अघि बढाएको छ। एक जनाको मृत्यु र एक जना गम्भीर घाइते हुने गरी सवारी दुर्घटना गराएका झाँक्री भुजेल अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा छन् ।
यनले लाइसेन्स घरमा रहेको दाबी गरेका छन् । प्रहरीले घरबाट लाइसेन्स मगाएको छ। ‘उनीसँग लाइसेन्स छ–छैन भन्ने यकिन हुन बाँकी नै छ । हामी अनुसन्धानमै छौं’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने । भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बुधबार दिउँसो शंखरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो । सो क्रममा मोटरसाइकल चालक नगरकोटीको मृत्यु भएको थियो भने उनकी श्रीमती किसानुमाया नगरकोटी गम्भीर घाइते भएकी थिइन् ।