काठमाडौं । आज बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो ।
काठमाडौंबाहेक देशैभरि चिसो क्रमशः बढ्दै गएको छ । जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएका छन् । त्यस्तै जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुई देखि माइनस ३ सम्म झरेको छ । जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको छ । यसपालि हिउँदमा सरदरभन्दा कम पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको थियो ।
चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दै गएको छ। चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन्।