24.1 C
Kathmandu
Tuesday, March 26, 2024
spot_img

सन्दर्भ विश्व रक्तदाता दिवस ः सधैँ रगतको अभाव

चितवन, ३१ जेठ (रासस)ः मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ ।

सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भाँैतारिनुपर्ने अवस्था रहेको छ । वर्षभरि नै कुनै न कुनै रक्त समूहको रगत नपाउँदा आफन्तहरु रक्तदाता खोज्न बाध्य हुने गरेका छन् । वर्षभरिमा झन्डै पाँच हजार जनाले केन्द्रमा नै आएर रक्तदान गर्ने गरेको तथ्याङ्क छ । यी व्यक्तिहरु बिरामीका आफन्तको अनुरोधमा डाकिएका रक्तदाता हुन् ।

यहाँका अस्पतालमा २० हाराहारी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बिरामी र अन्य अस्पतालमा विशेषज्ञ सेवा लिनेहरुका लागि धेरै रगत आवश्यक हुने गर्दछ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेल यहाँको क्यान्सर अस्पताल, भरतपुर अस्पताल, दुई मेडिकल कलेज र २० भन्दा बढी सानाठूला अस्पतालमा हुने शल्यक्रिया लगायतका उपचारमा ठूलो मात्रामा रगत माग हुने गरेको बताउनुहुन्छ । वर्षभरिमा ३५ हजार युनिट हाराहारी रगत केन्द्रले उपलब्ध गराउँदै आएको छ । पौडेलको भनाइमा ५० हजार युनिट हाराहारी रगतको आवश्यक यहाँ पर्दछ ।

अत्यावश्यक शल्यक्रियासमेत समयमा गर्न रगतका कारण कठिन हुने गरेको छ । पौडेलले केन्द्र सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटीले रक्तदाताका लागि उत्प्रेरणाका कार्यक्रम गर्न नसक्दा समस्या आएको बताउनुभयो । रक्तदाता बढाउनका लागि नयाँ रणनीतिक कामहरु गर्न नसकेर पुरानै ढर्रामा सोसाइटी रहेको उहाँको भनाइ छ । सरकारी निकायसँगको समन्वयमा सोसाइटीले काम गर्न नसकेको उहाको भनाइ थियो ।

केन्द्रले चितवनसहित छिमेकी जिल्लाबाट समेत सहकार्य गरेर रगत सङ्कलन गरिरहेको छ । नवलपरासी, गोरखा, लम्जुङ, तनहुँ, धादिङ, मकवानपुर, सर्लाही, रौतहट लगायतका जिल्ला पुगेर रगत सङ्कलन गर्ने गरिएको छ । वर्षभरमा ४०० हाराहारी रक्तदानका कार्यक्रम हुने गरेका छन् । ती कार्यक्रममा पहिले १००÷१५० युनिट रगत सङ्कलन हुने गरेकामा आजभोलि ४०÷५० युनिट सङ्कलन हुने गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले रगत सङ्कलन कम हुँदै गएकाले समस्या हुने गरेको बताउनुभयो । सोसाइटीले रक्तदाता उत्प्रेरणाका कार्यक्रम गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो । रक्तदातालाई गरिने सम्मान कार्यक्रमसमेत कोभिडका कारण दुई वर्षदेखि हुन नसकेको उहाँको भनाइ छ ।

एक घरको एक जनाले रक्तदान गरेमा मात्र धेरै समस्या समाधान हुने भन्दै उहाँले यो जनचेतना जगाउनुपर्ने बताउनुभयो । धेरै जिल्लाबाट यहाँ बिरामी आउने भएकाले ती जिल्लाहरुका सामाजिक सङ्घसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गरिदिएमा रगतको पूर्ति गराउन सहज हुने उहाँ बताउनुहुन्छ । वडा तहबाटै प्रचारप्रसार आवश्यक रहेको न्यौपानेको भनाइ छ । वर्षभरि नै रगतको अभाव हुँदा झापा, पोखरा, भैरहवा लगायत ठाउँबाट रगत मगाएर मागको आपूर्ति गर्ने गरेको न्यौपानेले जानकारी दिनुभयो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी समयमा नै योजना बनाउन नसकिएमा भविष्यमा रगतको ठूलो समस्या पर्ने बताउनुहुन्छ । आम नागरिकका बीचमा रगतको महत्वका बारेमा बुझाएर स्वयम्सेवीहरुको ठूलो समूह तयार गर्नुपर्ने उहाँको भनाइ छ ।

रक्तदाताहरुको सूची तयार गरी बोलाएर रगत लिने कार्यक्रमहरुलाई व्यापकता दिनुपर्ने उहाँ बताउनुहुन्छ । सामाजिक सेवा गर्ने सङ्घसंस्थाहरुले सामाजिक उत्तरदायित्व ठानेर वार्षिक कार्यक्रममा रक्तदान राख्नुपर्ने उहाँको भनाइ छ । यस्तै स्कुल, कलेजहरुले नियमीत रक्तदान कार्यक्रमसँगै साना विद्यार्थीहरुलाई रगतको महत्वका बारेमा बुझाउनुपर्ने अधिकारी बताउनुहुन्छ । नागरिक तहसम्म रगतको महत्वका बारेमा बुझाएर उत्प्रेरणा नदिएसम्म रगतको अभाव घटाउन नसकिने उहाँको तर्क छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles