पर्सामा बाख्रापालक किसानको खोरमा आगलागी, १८ खसीबाख्रा जलेर मरे
काठमाडौँ – पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५, शंकरशरैया क्षेत्रमा बुधबार बिहान आगलागी भएको छ। बाख्रापालक किसान लालबहादुर दासको खोरमा लागेको आगोले १८ वटा खसीबाख्रा जलेर मरेका छन्।
वडाध्यक्ष दारासिंह राउतका अनुसार आगलागी बुधबार बिहान १ बजेतिर भएको थियो। आगलागीको कारण खोर नजिकै बालेको घुर सल्किएर भएको बताइएको छ। बाख्रालाई चिसोबाट बचाउन घुर बालिएको भए पनि नियन्त्रणमा नरहेपछि खोरमा आगो सल्किएर ठूलो क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। घटनामा किसान दासको सबै बाख्रापालन नष्ट हुँदा उनी गहिरो तनावमा परेका छन्।
स्थानीय र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिइए पनि बाख्रापालन व्यवसायमा ठूलो क्षति भएकोले पीडितलाई आवश्यक सहयोग गर्न पहल भइरहेको वडाध्यक्ष राउतले बताएका छन्।
प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार