काठमाडौं– नयाँ वर्षको बिदापछि सुरु भएको मंगलबारको पहिलो कारोबार दिनमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा झरेको हो।
यसअघि चैत २१ गते सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम गरिएको थियो। सोमबार नयाँ वर्ष २०८२ को अवसरमा बजार बन्द भएका कारण मंगलबार पहिलो कारोबार दिन सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।
यद्यपि, लामो अवधिको दृष्टिले हेर्दा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। २०७९ चैत ३० देखि २०८० चैत २१ सम्मको एक वर्षको अवधिमा सुनको मूल्यमा करिब ४७ हजार रुपैयाँले वृद्धि भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। चैत ३१ मा तोलाको १९६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर १९४५ रुपैयाँमा कायम भएको छ।