काठमाडौं । दक्षिणी लेबनानमा रहेको शान्ति सेनाको बेसमा भएको आक्रमणको नेपालसहित ३४ देशहरूले विरोध जनाएका छन् । संयुक्त राष्ट्र संघका अनुसार इजरायली सेनाले आइतबार शान्ति सेनाको बेसमा जबरजस्ती घुसपैठ गर्दै गोलाबारी गरेको थियो ।
संयुक्त राष्ट्र संघको अन्तरिम बल (यूनिफिल) मा योगदान गर्दै आएको राष्ट्रका रुपमा नेपालले यूनिफिलको मिसन र गतिविधिप्रति समर्थन जनाएको छ । नेपालले यूनिफिलका शान्ति सैनिकमाथि भएको आक्रमणको भर्त्सना गर्दै सङ्घर्षरत पक्षलाई उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेको छ । साथै, यस्ता घटनाहरु तुरुन्त बन्द गर्नुपर्ने र यस घटनाको आवश्यक छानबिन गरिनुपर्ने नेपालले बताएको हो ।
लेबनानस्थित संयुक्त राष्ट्रसंघको बेसमा इजरायली सैनिक प्रवेश
यूनिफिल लेबनानका अनुसार आइतबार इजरायली सेनाको ट्याङ्कले मुख्य गेट तोडेर गोली चलाएको थियो जसका कारण शिविर धुवाँले भरिएको थियो । घटनामा १५ शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको छ ।