काठमाडौं– नेपाली फिल्म उद्योगमा नयाँ क्राइम थ्रीलर फिल्म ‘११:५५ – डु नट ट्रस्ट एनिवन’को टिजर सार्वजनिक गरिएको छ। १ मिनेट ३४ सेकेण्ड लामो यो टिजरमा लभ, रोमान्स, धोका र बदलाको कथा समेटिएको छ, जसमा रहस्यको संकेत पनि गरिएको छ।
फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र सागर खनाल प्रमुख कलाकारको रूपमा देखिनेछन्।
पटकथा लेखन र निर्देशन केशव पाण्डेले गरेका छन्। यसका साथै, कलाकार अग्रज र शेखर ज्ञवालीले पनि लेखनमा सहयोग गरेका छन्। फिल्मका अन्य प्रमुख पक्षहरूमा अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व, राजेन्द्र मोक्तानको रङ, शैलेश श्रेष्ठको साउण्ड डिजाइन र मिक्सिङ, प्रद्युम्न मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्लेको प्रोडक्सन डिजाइन रहेको छ।
फिल्म ‘११:५५ – डु नट ट्रस्ट एनिवन’ विचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण गरिएको हो, जसको लगानीकर्ता श्याम शर्मा र सरोजा शर्मा छन्। कार्यकारी निर्माता फिल्मका एमएस अग्रज हुन्। फिल्मको वितरण कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले गर्नेछ।
यो फिल्मले नेपाली दर्शकहरूलाई नयाँ किसिमको थ्रीलर फिल्मको अनुभव प्रदान गर्ने आशा गरिएको छ।