• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

पौडी खेल्न गएका दुई बालक नारायणी नदीमा बेपत्ता, खोजी कार्य जारी


काठमाडौँ – पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१२, तमासपुरमा पौडी खेल्न गएका दुई बालक नारायणी नदीमा बेपत्ता भएका छन्। मंगलबार (३ वैशाख) दिउँसो पाँच जना बालकहरू पौडी खेल्न गएका मध्ये दुईजना नदीमा बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा १६ वर्षीय विजय पौडेल र १२ वर्षीय पवन पौडेल रहेका छन्। उनीहरू एउटै परिवारका दाजुभाइका छोराहरू हुन्। विजय, धनञ्जय पौडेलका छोरा हुन् भने पवन, हरि पौडेलका छोरा हुन्। विजयले हालै मात्र माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका थिए।

घटना मध्यविन्दु–१५ स्थित सशलाघाट नजिकको अरुणखोला र नारायणी नदीको संगमस्थलमा भएको हो। यो स्थान उनीहरूको घरबाट करिब २ किलोमिटर टाढा पर्छ।

दिउँसो पौडी खेल्न गएका बालकहरू साँझ साढे ६ बजेसम्म घर नफर्किएपछि परिवारले खोजी कार्य सुरु गरेका थिए। रातभर गरिएको प्रयासमा उनीहरू फेला नपरेपछि जिल्ला प्रशासन कार्यालयलाई गोताखोर परिचालनका लागि अनुरोध गरिएको छ। आज बिहानदेखि पुनः खोजी कार्य भइरहेको छ।

बेपत्ता दुबै बालकका बाबुहरू वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन्। घटनापछि परिवारसहित स्थानीयवासीहरू शोकमा छन्।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार