काठमाडौँ – नेपाली सुन बजारमा बुधबार तोलामा २,७०० रुपैयाँले वृद्धि भई छापावाल सुनको मूल्य १,८७,००० रुपैयाँ पुगेको छ। यो दर अहिलेसम्मकै उच्च मूल्य हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलाको १,८४,३०० रुपैयाँमा कारोबार भइरहेको सुन बुधबार बढेर १,८७,००० रुपैयाँ पुगेको हो। एकैदिन भएको यति ठूलो मूल्य वृद्धिसँगै सुनको दर नयाँ कीर्तिमानमा पुगेको व्यवसायीहरू बताउँछन्।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। मंगलबार प्रति तोला १,९४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार १० रुपैयाँले वृद्धि भई १,९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, भू–राजनीतिक अस्थिरता, तथा माग–आपूर्तिमा देखिएको असन्तुलनका कारण सुनको मूल्य उच्च विन्दुमा पुगेको हो।
सुनचाँदी बजारमा आएको यो तेजी आर्थिक क्षेत्रमा पनि चासोको विषय बनेको व्यवसायीहरूको भनाइ छ।