काठमाडौँ — कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा शुक्रबार बिहान मर्निङ वाकमा निस्किएका दुई महिलालाई अनियन्त्रित कारले ठक्कर दिँदा दुबैको घटनास्थलमै मृत्यु भएको छ।
बिहान करिब पौने ६ बजेतिर बीएबी–९५९९ नम्बरको कारले ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार, तीमध्ये एक महिलाले बाटो पार गरिसकेपछि अर्कोलाई तान्ने क्रममा गाडी अनियन्त्रित भई ठक्कर दिएको बताइएको छ। ठक्करले दुबै महिला गम्भीर घाइते भई घटनास्थलमै ज्यान गुमाएकी छन्।
दुर्घटनामा संलग्न कार चालक ३२ वर्षीय खिमराज श्रेष्ठ रुपन्देहीको सैनामैनाका हुन्। उनलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।