काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट सर्वोच्च अदालतको न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा विचाराधीन छ।
उक्त रिट मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेकी हुन्। नेपाल प्रहरी प्रधान कार्यालयको जवाफ महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित रूपमा पेश भएपछि मिश्रसँग इजलासमा बयान लिइनेछ।
मिश्रलाई गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहको हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो। सो घटनामा दुर्गा प्रसाईसहित अन्य केही पनि पक्राउ परेका थिए।
यसअघि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन कारण देखाऊ आदेश जारी गरेको थियो।
मिश्रमाथि राज्यद्रोह, सङ्गठित अपराध र आपराधिक उपद्रवको आरोपमा अनुसन्धान जारी छ।