19.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

कृष्णपुरमा छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढदै

छाडा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले काम अगाडि बढाएको छ । नगरपालिकाको प्रत्येक वडामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढाएको हो ।

“लामो समयदेखि समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापन गर्दैछौंँ”, नगरप्रमुख हेमराज ओझाले भन्नुभयो, “तिहारको लक्ष्मीपूजाको दिनसम्म अस्थायी रुपमै भए पनि छाडा चौपाया गौशालामा जम्मा गरी पूजा गर्ने गरी काम अगाडि बढाएका छौँं ।”

छाडा चौपाया र घरमै पालिएका गाईलाई फरक फरक रङगको ‘ट्यागिङ’को कार्य भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार वडा नं ४ बाट ट्यागिङको सुुरु गरी नौ वटै वडामा गरिने छ । “ट्यागिङले घरमै पालिएका गाई र बाह्य क्षेत्रमा छाडिएका गाईको पहिचान गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो, “गाईगोरु छाडा रुपमा छाडने व्यक्तिको पहिचान हुन्छ, छाडा रुपमा गाईगोरु छाडनेको पहिचान गरी नगरपालिकाको प्रचलित कानुन अनुसार कारबाही गर्छ ।”

छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले घाँस, चारो, पानी र हेरालाको व्यवस्था गर्न योजना बनाएको छ । “छाडा चौपायालाई व्यवस्थापन गरी मल, दूध बिक्री गरी आम्दानी गर्ने र चौपायालाई सहज रुपमा दाना पानी र घाँसको व्यवस्था कसरी गर्ने भन्नेबारे गहन रुपमा छलफल गरी योजना निर्माण गर्नमा लागेका छौँ”, नगरप्रमुख ओझाले भन्नुभयो, “गौशालामा राखिने गाईगोरुको उपचारमा सघाउ पु¥याउन दक्ष पशु प्राविधिकको व्यवस्था गर्छाँै ।”

हालसम्म वडा नं ४ र ५ मा गौशाला निर्माणको काम सकिएको छ । अन्य वडामा सो सम्बन्धी काम अगाडि बढाइएको छ । नगरपालिकाले चालू आवमा छाडा चौपाया व्यवस्थापनका लागि रु ४० लाख बजेटको व्यवस्था गरेको छ । स्थानीय बासिन्दाका अनुसार छाडिएका चौपाया जङ्गली भइसकेका छन् । मान्छे देख्ने वित्तिकै कान ठाडो पारेर जङ्गलतर्फ भाग्ने गरेका ती गाईगोरु गौशालामा व्यवस्थापन गर्न नगरपालिकालाई चुनौती छ ।

छाडा चौपायाका कारण स्थानीयवासीले निकै हैरानी खेप्दै आएका छन् । खेतबारीमा लगाएको धान, गहुँ, मकै, दलहनजन्य बाली, उखु, केरा र तरकारी बालीमा छाडा चौपायाले निकै नोक्सानी पु¥याउँदै आएको स्थानीय सुरेन्द्र चौधरीले बताउनुभयो ।

“हुलका हुल छाडा चौपाया खेतबारीमा पसेर निकै नोक्सानी पु¥याउँदै आएका छन्”, उहाँले भन्नुभयो, “विगतमा छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढाइएको थियो, त्यो सफल हुनसकेन, दीगो रुपमा छाडा चौपाया व्यवस्थापन गर्न नगरपालिकाले एक वडा एक गौशालाको योजना ल्याएको छ, त्यसमा सहयोग गर्न तत्पर छौंँ ।”

रातिका बेला छाडा चौपाया जङ्गली जनावरझै स्थानीय किसानका खेतबारीमा चर्न पुग्छन् । स्थानीयवासीले खेतबाट धपाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुनेगरी बस्ने गरेका छन् । जसबाट सवारी दुर्घटनासँगै ट्राफिकको समस्या बढदो रुपमा रहेको छ । कृष्णपुर नगरपालिका जस्तै छाडा चौपायाको समस्या बेदकोट, भीमदत्त नगरपालिकामा छ ।

दुवै नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको योजना निर्माणमा जुटेका छन । शुक्लाफाँटा नगरपालिकामा भने व्यवस्थित गौशाला निर्माण गरी चार वर्ष अघिनै छाडा चौपाया व्यवस्थापनको कार्य गरिएको छ ।

जैविक तटबन्ध निर्माण प्राथमिकतामा

कृष्णपुर नगरपालिकाले जैविक तटबन्ध निर्माणको कार्यलाई प्राथमिकतामा राखेको छ । नगरपालिका भएर बग्ने नदीहरुले गर्ने भू–क्षय रोक्न योजना बनाएर जैविक तटबन्ध निर्माण अगाडि बढाइएको छ । थोरै लगानीमा निर्माण हुने जैविक तटबन्ध भू–क्षय रोक्न प्रभावकारी देखिएको नगरप्रमुख ओझाले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिका–७ मोहना नदीमा शान्तिपुर र गोदावरी नगरपालिका जोडने झोलुङ्गे पुल जोगाउन जैविक तटबन्ध निर्माण गरिएको छ । यसैगरी, नगरपालिका–८ मज्गाउँ र धनगढी उपमहानगरपालिका १३ जोडने झोलङ्गे पुल जोगाउन र नगरपालिका–१ बण्ड खोलाले भू–क्षय गरिरहेको सत्याल फाँटमा जैविक तटबन्ध निर्माण गरिएको छ ।

तीन वटै क्षेत्रमा एक सयदेखि एक सय ५० मिटरका तटबन्ध निर्माण गरिएका छन । तटबन्ध निर्माणका लागि स्थाानीय बासिन्दाले श्रमदान गरेको नगरप्रमुख ओझाको भनाइ छ । जैविक तटबन्ध बाँसको प्रयोग गरी निर्माण गरिएको छ । “ढुङ्गाको तटबन्ध भन्दा जैविक तटबन्धको लागत निकै कम भएकाले यसको निर्माणमा जोड दिन थालेका छौँ”, उहाँले भन्नुभयो, “यो तटबन्ध भरपर्दो रहेको छ ।”

तटबन्ध निर्माणसँगै नदीका बगर संरक्षण गर्ने, वृक्षरोपण गर्ने कार्यलाई अगाडि बढाइएको उहाँले बताउनु भयो । “तटबन्ध निर्माण गर्न बाँसको निकै अभाव खेप्नुप¥यो” उहाँले भन्नुभयो, “तटबन्ध निर्माणका लागि बाँसको अभाव नहोस् भनेर हरियाली सामुदायिक वनसँग सम्झौत गरी एक बिघा जग्गामा बाँसका बिरुवा रोपेका छौँ, अन्य सामुदायिक, निजी र कबुलियत वन क्षेत्रसँग सहकार्य गरी बाँस रोप्ने योजना बनाइएको छ ।” नगरपालिकाभित्र रहेका विभिन्न नदीमा बर्सेनि आउने बाढीले भूक्षय गर्दै आएको छ । अस्थायी रुपमा भूक्षयको रोक्न वडा नं १, २, ३, ७ र ८ मा जैविक तटबन्ध निर्माणका कार्य गरिएकाछन् ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles