Breaking शिक्षा-स्वास्थ्य समाचार

फरक क्षमता भएका विद्यार्थीलाई प्रविधिको अभाव

Written by janaawaaj

गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा रहेको तम्घास माध्यमिक विद्यालयमा बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराइन्छ । यहाँ जिल्लाको मालिकाबाहेक अन्य ११ पालिकाका ३० विद्यार्थी छन् ।

विसं २०५९ देखि आवाससहित अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन सुरु गरिए पनि हालसम्म आधुनिक प्रविधिको व्यवस्था नहुँदा विद्यार्थी पुरानै शैलीमा पढ्न र सिक्न बाध्य छन् । यहाँ २० बहिरा अपाङ्गता र १० बौद्धिक अपाङ्गता भएका विद्यार्थी छन् । उहाँहरुलाई पूर्णरुपमा निःशुल्क आवासीय सुविधासहित विद्यालयले अध्यापन गराउँदै आएको छ ।

भर्ना भएपछि प्रतिविद्यार्थी विद्यालयले सरकारबाट रु चार हजार पाउँछन् । चरणचरणमा विभिन्न तालिम लिएका शिक्षकले साङ्केतिक भाषाबाट विद्यार्थीलाई पढाउनुहुन्छ । जिल्लामा दुवै प्रकारका क्षमता भएका विद्यार्थीलाई पढाउने एक मात्र विद्यालय उपल्लो तम्घास हो ।

हालसम्म एक सयभन्दा बढी विद्यार्थी उपल्लो तम्घासमा कक्षा ५ सम्म पढेर बागलुङ, पोखरा, भैरहवा र काठमाडौँ जाने गरेका छन् । यही विद्यालयले उत्पादन गरेका चार विद्यार्थी हाल कोरिया रहेको पूर्वस्रोत शिक्षक राममणी पन्थीले बताउनुभयो । थुप्रै विद्यार्थीले नेपालमै सीपमूलक व्यवसाय पनि गरिरहेका छन् ।

उपल्लो तम्घास माध्यमिक विद्यालयले कम्तीमा छ वर्ष पुगेको र १६ वर्ष ननाघेका विद्यार्थीलाई समावेश गरेर पढाइरहेको छ । बढीमा ५० यस्ता फरक क्षमता भएका विद्यार्थी यस विद्यालयले अध्यापन गराउन सक्छ । यस विद्यालयको यस्तो सुविधाका कारण अपाङ्ता भएका बालबालिकाका अभिभावक निराश हुनुपरेको छैन् ।

बालबालिकाको स्याहारसुसार गरिरहनुभएकी रेसुङ्गा नगरपालिका–७ की सीता घर्तीले सुरुमा बालबालिकाले खान र बोल्न नजान्ने हुँदा केही समस्या भए पनि सिकेपछि सहज भइरहेको बताउनुभयो । अपाङ्गता भएका बालबालिकालाई स्याहारसुसार गर्न पाउँदा खुसी लागेको भन्दै धर्म गर्न योबाहेकको अरु कर्म गर्न नपर्ने उहाँ बताउनुहुन्छ । उहाँसहित तीन जनाले बालबालिकाको हेरचाह गर्दै आउनुभएको छ ।

घरमा आफ्नै भाषा सिकाउने कारण विद्यालयमा आउँदा साङ्केतिक भाषा नजान्दासम्म विद्यार्थीलाई सिकाउन ग्राहो हुने स्रोत शिक्षक ज्ञानेन्द्र राज मरासिनीले बताउनुभयो । “सुरुमा विद्यालय आउन ग्राहो मान्ने विद्यार्थी साङ्केतिक भाषा सिकेपछि घरमा बस्न ग्राहो मान्छन्”, उहाँ भन्नुहुन्छ, “शैक्षिक सामग्री धेरै प्रयोग गरेर सिकाउनुपर्छ”, उहाँले भन्नुभयो । सिकाउँदै गएपछि सहज हुने शिक्षक मरासिनीको भनाइ छ । अन्य बोलेर पढाउने विद्यार्थीभन्दा यी साङ्केतिक रुपमा पढाउने विद्यार्थी सिकाइमा बढी सक्रिय हुने गरेको उहाँले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक पिङ्की घिमिरे भुसालले अपाङ्गता भएका विद्यार्थीलाई लामो समयदेखि अध्यापन गराउँदै आएपनि आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । “हामीले सक्दो र जानेको त सिकाइरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “अहिलेका प्रविधिसँग विद्यार्थीलाई साक्षात्कार गराउन सकेका छैनौँ”, उहाँले गुनासो गर्नुभयो । आफूहरुको इच्छा भएर पनि त्यस्तो बाताबरण बन्न नसकेको उहाँको भनाइ छ ।

जिल्लाभर भएका अपाङ्गता विद्यार्थीलाई लेखाजोखा समिति गुल्मीले हेर्दै आएको छ । समितिका संयोजक राममणी पन्थीले सङ्घीयता कार्यान्वयनसँगै बनेका गाउँगाउँका सरकार अपाङ्गताप्रति उदासीन बनेको बताउनुभयो । “अपाङ्ताका लागि सङ्घीयता अभिसाप बनेको छ”, उहाँ भन्नुहुन्छ, “अहिले त आफ्नो नजिक भएकालाई रातो कार्ड दिने वास्ताविक अपाङ्तालाई बेवास्ता गर्ने गरिएको छ”, उहाँले भन्नुभयो ।

गाउँगाउँमा भएका बहिरा अपाङ्गता र बौद्धिक अपाङ्गता भएका बालबालिका खोजेर उपल्लो तम्घास माध्यमिक विद्यालयमा निःशुल्क पढाउने र विद्यार्थीका लागि पनि आधुनिक प्रविधिको व्यवस्थामा पहल गर्ने उहाँको भनाइ छ ।

About the author

janaawaaj