रुकुमपूर्वको झुम्लाबाङमा ठूलो फलाम खानीको संभावना, स्थानीय बासिन्दामा चिन्ता


काठमाडौँ – रुकुमपूर्वको भूमे गाउँपालिका–३, झुम्लाबाङमा गत वर्ष गरिएको फलाम खानीको प्राविधिक अध्ययनले ठूलो खानीको संभावना देखाएको छ। प्रारम्भिक अध्ययनले यहाँको खानीमा करिब २० करोड मेट्रिक टन फलामको सम्भावना रहेको जानकारी दिएको छ।

बिहीबार भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, वडाध्यक्ष प्रशुराम बुढा मगर र अन्य प्रतिनिधिहरूसँग छलफल भएको थियो। छलफलमा फलाम खानीको सम्भावित स्रोत र विस्तृत परियोजना प्रतिवेदन (DPR) सम्बन्धी विचार विमर्श गरिएको थियो। साथै, खानी उत्खनन्, प्रशोधन, वातावरणीय असर, आर्थिक लाभ र स्थानीय रोजगारीका पक्षहरूमा प्राविधिक मूल्यांकन गरिएको छ।

प्रारम्भिक अनुसन्धान र नमूना परीक्षणले झुम्लाबाङमा ठूलो फलाम खानीको संभावना पुष्टि गरेको छ। यद्यपि, स्थानीय बासिन्दाहरू खानी उत्खनन् प्रक्रियाले आफ्नो बसोबासको भविष्यमा असर पार्ने चिन्तामा छन्। तिनीहरूले सरकारसँग पुनर्स्थापनाको योजना बनाउने माग गरेका छन्।

फलाम खानीको उत्खनन् र प्रशोधन प्रक्रिया सुरु भएमा यस क्षेत्रको आर्थिक विकासमा ठूलो योगदान पुर्याउन सक्नेछ, तर स्थानीय बासिन्दाको भविष्य सुरक्षित राख्नका लागि सन्तुलनकारी योजनाहरू आवश्यक पर्न सक्नेछन्।

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार