19.1 C
Kathmandu
Wednesday, March 27, 2024
spot_img

आइटिएफमा आर्मी सात स्वर्णसहित अग्रस्थानमा

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी सात स्वर्ण पदकसहित अग्रस्थानमा छ । अहिलेसम्मका खेलमा बागमती प्रदेशले तीन र गण्डकीले एक स्वर्ण जितेको छ ।

एकल प्याटर्नमा छ र टिम प्याटर्नमा एक स्वर्ण जित्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो वर्चश्व कायम गरेको हो । आइतबार भएको पुरुष टिम प्याट्रनमा नेपाल आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो । पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेश र महिलातर्फ नेपाल आर्मीले रजत पदकमा चित्त बुझायो । महिलातर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीकी रिना धिमालले गण्डकी प्रदेशकी सुस्मिता थापालाई पराजित गर्दै स्वर्ण पदक हात पारिन् । गण्डकीकी थापा रजत पदकमा सीमित बनिन् ।

‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा बागमतीकी रुबिका खड्काले स्वर्ण र आर्मीकी निष्मा बस्यालले रजत पदक जितेकी छन् । ‘ब्ल्याक बेल्ट’ पहिलो डानमा बाग्मती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमा खड्काले रजत पदक हासिल गरेकी हुन् ।

पुरुषतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण पदक हासिल गरे । गण्डकी प्रदेशका राजन रेग्मीले रजत पदकमा चित्त बुझाए । ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा नेपाल आर्मीका सुमन मस्राङ्गी मगरले स्वर्ण र लुम्बिनी प्रदेशका वीरेन्द्र बुढामगरले रजत पदक जितेका छन् । प्रतियोगिताको पहिलो दिन शनिबार भएका खेलमा आर्मीले तीन र गण्डकी प्रदेशले एक स्वर्ण जितेको थियो ।

‘ब्ल्यु बेल्ट’तर्फ पुरुष एकल प्याटर्नमा आर्मीका धनसिंह परियारले स्वर्ण र लुम्बिनीका सफल परियारले रजत पदक हात पारे । ‘रेड बेल्ट’मा गण्डकी प्रदेशका भीम गाहाले स्वर्ण पदक जित्दा र लुम्बिनीका सन्देश सुनार रजत पदकमा सीमित बने ।

‘ब्ल्याक बेल्ट’ पहिलो डानमा आर्मीका भीमबहादुर तामाङले स्वर्ण र गण्डकीका प्रवीण बुढाले रजत पदक हात पारे । ‘ब्ल्यु बेल्ट’ महिलातर्फ गण्डकीकी मोनिका कुँवरलाई पराजित गर्दै आर्मीकी सुस्मिता श्रेष्ठले स्वर्ण पदक हाँसिल गरिन् । कुँवरले रजत जितिन् ।

अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याटर्नमा एउटा मात्र स्वर्ण जित्न सफल भएको छ । बागमतीले भने एकलमा दुई र टिम प्याटर्नमा दुई स्वर्ण हात पारेको छ । स्पाइरिङतर्फको पहिलो खेल आइतबार नै सुरु भए पनि समय नपुगेका कारण फाइनल खेलाउन नसकिएको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

आज हुने फाइनल खेलमा गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच प्रतिस्पर्धा हुने नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । शनिबारदेखि सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याटर्न र टिम प्याटर्नका खेल भइरहेका छन् ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडी प्रतिस्पर्धामा छन् । स्थानीय बाङ्गेचौर खेल मैदानमा प्रतियोगिता चलिरहेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles