13.1 C
Kathmandu
Friday, December 8, 2023
spot_img

दाङमा पुरुष उम्मेदवारसँग भिड्दै महिला उम्मेदवार

दाङ, १ मङ्सिर (रासस) : दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र उहाँको प्रतिस्पर्धीमा नेकपा (एमाले) की शान्ता चौधरी चुनावी मैदानमा हुनुहुन्छ ।

दाङ क्षेत्र नं २ मा एमालेका शङ्कर पोखरेलसँग सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्मा तथा दाङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दीपक गिरीसँग एमालेकी कोमल वलीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

मेटमणि सहरी विकासमन्त्रीसमेत हुनुहुन्छ । उहाँ दोस्रो पटक निर्वाचन लड्दै हुनुहुन्छ । यसअघि २०७४ सालमा वाम गठबन्धन हुँदा देउखुरीबाट कांग्रेसका उम्मेदवार सुशीला चौधरीलाई हराउँदै उहाँ विजयी हुनुभएको थियो । विसं २०६४ मा पहिलोपटक समानुपातिकतर्फबाट एमाले सांसद भएकी शान्ता २०७४ सालमा पनि समानुपातिकबाटै सांसद हुँदै सचेतक हुनुभएको थियो ।

दुई पटक समानुपातिकबाट सांसद भएकी शान्ता प्रत्यक्षतर्फ दोस्रोपटक प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा उहाँ दाङ २ मा प्रत्यक्षतर्फ कांग्रेसकी सुशीला चौधरीसँग पराजित हुनुभएको थियो । अहिले त्यही क्षेत्रबाट मेटमणिसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

तत्कालीन अवस्थामा क्षेत्र नं २ देउखुरी क्षेत्रमा पथ्र्यो । सङ्घीयतापछि समग्र देउखुरीलाई समेटेर घोराही र बङ्गलाचुलीको केही वडा समेटेर क्षेत्र नं १ बनाइएको छ । अहिले पनि भूगोलका हिसाबले त्यही क्षेत्रबाट निर्वाचन लड्दै हुनुहुन्छ । यद्यपि उहाँको मतदाता नामावली चाहिँ घोराही उपमहानगरपालिका–४ मा पर्छ जुन निर्वाचन क्षेत्र नं २ हो ।

गत स्थानीय तह निर्वाचनमा गठबन्धन एमालेभन्दा दोब्बर मतले अघि देखिन्छ । एकीकृत समाजवादीलाई कांग्रेस र माओवादीले साथ दिएमा मेटमणिलाई जित्न सहज हुने देखिन्छ । गठबन्धनको मत सबै आफुलाई प्राप्त हुने चौधरीको दाबी छ । “यो गठबन्धन कुनै चुनाव जित्नलाई मात्रै नभई यो विशेष परिस्थितिमा मुलुक जोगाउन गरिएको हो”, उहाँ भन्नुहुन्छ, “त्यसैले गठबन्धनको मत बाहिर जाँदैन, चुनाव हामीले जित्छौँ ।” यो क्षेत्रमा २०७४ सालमा कांग्रेसले २१ हजार तीन सय २९ समानुपातिक मत पाएको थियो भने एमालेले २२ हजार पाँच सय ९९ र माओवादी केन्द्रले १४ हजार आठ सय छ मत ल्याएको थियो । एमाले विभाजन भए पनि मतमा भने खासै अन्तर देखिएको छैन ।

थारुको बाहुल्यता भएको यो निर्वाचन क्षेत्रमा सबै उम्मेदवारको आँखा थारु मतदातामै छ । शान्ताले आफू पूर्वकमलरी हुँदै कमलरी मुक्तिका लागि खेलेको भूमिका महत्वपूर्ण भएकाले थारु समुदायले भोट दिने अपेक्षा गर्नुभएको छ । “थारु समुदाय निकै पछाडि परेको समुदाय हो, म आफैँ पनि अर्काको घरमा कमलरी बसेर आएको मान्छे हुँ”, उहाँले भन्नुभयो ।

क्षेत्र नंं १ मा एमालेका केन्द्रीय सदस्य गङ्गा चौधरीले पार्टी परित्याग गरी भर्खर खुलेको हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिनुभएको छ । उहाँ दुई पटक समानुपातिकतर्फबाट सांसद हुनुभयो । विसं २०७० मा उहाँ थरुहट तराई पार्टीको तर्फबाट समानुपातिक सांसद हुनुभयो भने २०७४ सालमा एमालेको तर्फबाट समानुपातिक सांसद हुनुभएको थियो ।
दाङ क्षेत्र नं २ मा एमाले शङ्कर पोखरेलसँग गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माबीच चुनावी टक्कर हुने देखिन्छ । विसं २०७० र २०७४ को निर्वाचनमा उहाँ समानुपातिक सांसद हुनुहुन्थ्यो । विसं २०७२ मा उहाँ सामान्य प्रशासनमन्त्री समेत हुनुभयो । अहिले शर्माले पोखरेलसँग पहिलोपटक प्रत्यक्ष निर्वाचनतर्फ सामना गर्दै हुनुहुन्छ ।

एमाले महासचिव पोखरेल पनि धेरै पटक प्रत्यक्ष निर्वाचन लड्नुभएको छ । विसं २०५१ को प्रतिनिधिसभा सदस्य र २०७४ सालको प्रदेशसभा निर्वाचनमा मात्रै उहाँले सफलता हात पार्नुभएको थियो । उहाँले २०५६ सालको चुनावमा कृष्णकिशोर घिमिरेसँग हार ब्यहोर्नुभयो भने २०७० सालको निर्वाचनमा दाङ क्षेत्र नं ४ बाट बुद्धिराम भण्डारीसँग पराजित हुनुभयो । विसं २०६४ को निर्वाचनमा भने उहाँ समानुपातिक सांसद बन्नुभयो । त्यसबीचमा उहाँ मन्त्री हुनुभयो भने विसं २०७४ को निर्वाचनपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नुभयो । त्यतिबेला उहाँले दाङ क्षेत्र नं २ को प्रदेशसभा १ बाट चुनाव जित्नुभयो । स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

विसं २०७४ मा कांग्रेसले २२ हजार ९२ समानुपातिक मत पाएको थियो, भने एमालेले २२ हजार आठ सय ६९ र माओवादी केन्द्रले १७ हजार पाँच सय ८४ मत ल्याएको थियो ।

दाङ क्षेत्र नं ३ मा पटक–पटक प्रत्यक्ष निर्वाचन लडेर निखारिएका कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीसँग एमालेकी कोमल वलीले पहिलोपटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ गिरीले यसअघि एक पटक मात्रै निर्वाचन जित्नुभयो । विसं २०५१ मा तत्कालीन दाङ क्षेत्र नं ३ बाट एमाले नेता शङ्कर पोखरेलसँग हार ब्यहोरेका गिरीले २०५६ सालमा निर्वाचन लड्नुभएन । उहाँको ठाउँमा गेहेन्द्र गिरीले चुनाव लड्नुभयो । र उहाँले जित हात पार्नुभयो । विसं २०६४ मा दाङ क्षेत्र नं ५ बाट माओवादीकी सुष्मा शर्मा घिमिरेसँंग गिरी पराजित हुनुभयो । विसं २०७० मा भने उहाँले चुनाव जित्नुभयो । उहाँ २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका तत्कालीन जिल्ला सचिव हीराचन्द्र केसीसँग पराजित हुनुभयो । वली भने यसअघि एमालेबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य हुनुभएको थियो ।

विसं २०७४ को निर्वाचन अनुसार कांग्रेसले यो क्षेत्रमा ३० हजार पाँच सय ७२ समानुपातिक मत पाएको थियो भने एमालेले २७ हजार पाँच सय ४३ र माओवादी केन्द्रले १० हजार आठ सय पाँच मत पाएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles