22.7 C
Kathmandu
Friday, March 24, 2023
spot_img

‘प्राकृतिक खोलालाई प्राकृतिक रुपमै बग्न दिइने छ ’

धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख गोपाल हमाललाई यति बेला नगरवासीका समस्याहरु सुन्ने र समाधानको पहल गर्ने कामको चटारोले भ्याइनभ्याई छ ।

उपमहानगरपालिकाको आगामी वर्षको बजेट, कार्यक्रम, योजनाको तयारी गर्नुपर्ने कामको चटारोका बीच वर्षायाममा देखिन सक्ने डुबानको जोखिमको समाधानको प्रयासस्वरुप खोलानालामा भएको अतिक्रमण हटाउने अभियान थालिएसँगै यतिबेला उहाँलाई भ्याइनभ्याई भएको हो । अतिक्रमित क्षेत्रमै पुगेर उहाँले अतिक्रमण हटाउने अभियानको नेतृत्व गरिरहनुभएको छ ।

“खोलानालामा भएको अतिक्रमण हटाउने एजेन्डा यसपालिको जनादेशको म्यान्डेड हो, यसलाई अभियानकै रुपमा लिएका छौँ,” प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका प्रमुख हमालले राससलाई भन्नुभयो, “प्राकृतिक खोलानालालाई प्राकृतिक रुपमा बग्न दिने व्यवस्था गर्दैछौँ, यो काममा आगामी वर्षदेखि बजेटको व्यवस्थासमेत गर्दैछौँ ।”

उपमहानगर प्रमुख हमालले नवनिर्वाचित वडाध्यक्ष, सदस्यका साथै नगरवासीको अभूतपूर्व साथ र सहयोग मिलेको बताउनुभयो ।सामाजिक सञ्जाल प्रयोगकर्ता अधिकांश नगरवासीले अतिक्रमण हटाउने अभियानको प्रशंसा गर्नुभएको छ । धनगढी तारानगरका प्रकाशराज भट्टले नगर प्रमुखमा निर्वाचित भएपछि हमालले एउटा ऐतिहासिक, साहसिक र धनगढीवासीको वर्षौंदेखिको आवाजलाई सम्बोधन गर्ने कामको थालनी गर्नुभएको बताउनुभयो ।

उपमहानगरपालिका क्षेत्रमा वर्षायाममा डुबानको विकराल समस्या देखिने गरेकाले यसको समाधानका लागि खोलानाला मिचेर बनाइएका संरचना हटाउने अभियान थालिएको हो ।

उपमहानगरपालिका कार्यालयले फोहर जम्मा भएर पुरिएका मुख्य सडक दायाँबायाँका पक्की नालीको सरसफाइ गर्ने काम पनि थालेको छ । नालीमा थुप्रिने फोहरले पानी र ढल निकास बन्द भई वर्षायाममा मुख्य सडक नै जलमग्न हुने समस्या छ ।

उपमहानगर क्षेत्रमा खोलानाला मिचेर बनाइएका संरचना हटाउन उपमहानगरपालिका कार्यालयले विगतमा पटक पटक निर्णय गरेको भए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।
कुनै योजना विना सहरका रुपमा विकास हुँदै गएको धनगढी उपमहानगरपालिका क्षेत्रमा डुबान, मोहना नदीको कटान, ढल निकास, सडक निर्माण तथा स्तरोन्नति, फोहरमैला व्यवस्थापन, अव्यवस्थित बसोबास आदि मुख्य समस्याका रुपमा रहेका छन् ।

उपमहानगर क्षेत्रको उत्तरबाट दक्षिण हुँदै बग्ने कैलाली खोला, सुकुटी नाला लगायतका क्षेत्रको जग्गा मिचेर संरचना बनाउँदा यी खोलाको प्राकृतिक मार्ग बन्द भई वर्षायाममा डुबानको समस्या हुने गरेको छ । खासगरी उपमहानगरको वडा नं १, २, ३, ४, ५, ७ र ८ मा डुबानको मुख्य समस्या छ ।

मोहना नदीको कटानबाट वडा नं २ र ३ मा पर्ने नदी छेउको बस्ती बढी प्रभावित हुने गरेको छ । उपमहानगरका भएर पनि कतिपय वडा र बस्तीमा स्तरीय सडक, खानेपानी लगायतका पूर्वाधार निर्माण हुन नसक्दा स्थानीयवासीले अझै पनि आधारभूत सेवासुविधा पाएको अनुभव गर्न पाएका छैनन् ।

विसं २०३३ मा स्थापना भएको धनगढी नगरपालिकालाई केही वर्षअघि साबिकको फूलबारी र उर्मा गाविसलाई समेटेर उपमहानगरपालिका बनाइएको थियो । उपमहागरपालिमा बाहुन, क्षेत्री, ठकुरी, दलित, राना थारू, डगौरा थारू, समुदायको बाहुल्यता रहेको छ । हालै भएको राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा उपमहानगरको जनसङ्ख्या दुई लाख दुई हजार पुगेको जनाइएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,743FollowersFollow
20,700SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles