काठमाडौँ – काभ्रेको धुलिखेल नगरपालिका–७ मा शनिबार बिहान हाइटेन्सन लाइनको पोलमा काम गर्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानका ३० वर्षीय उपेश नेपालीको मृत्यु भएको हो। उनी हाल धुलिखेलमा विद्युत् पोलको मर्मतसम्बन्धी काममा संलग्न थिए।
उपेश नेपाली आर्थिक रूपमा कमजोर परिवारका सदस्य थिए। उनी दैनिक मजदुरी गरेर श्रीमती, दुई साना छोराछोरी, बुवा र आमाको गुजारा चलाइरहेका थिए।
स्थानीयका अनुसार जेठ १ गते आएको हावाहुरीले उपेशको घरको छाना उडाएको थियो। त्यसपछि गाउँलेहरूले चन्दा संकलन गरेर नयाँ छाना हाल्ने तयारी गरिरहेका थिए। तर त्यही बीच दुःखद घटनाले गाउँ शोकमा डुबेको छ।
घटनाको बेला ११ हजार भोल्टको लाइन सञ्चालनमा रहेको अवस्थामा पोलमा काम गराउँदा करेन्ट लागेर घटनास्थलमै उपेशको मृत्यु भएको बताइएको छ। स्थानीयवासीले विद्युत प्राधिकरणले कुनै पूर्वसूचना नदिई लाइन सञ्चालनमा ल्याएको आरोप लगाएका छन्।
उपेशलाई ठेक्कादारमार्फत सो कार्यमा संलग्न गराइएको जनाइएको छ। घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो र हाल अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।
मृतककी श्रीमती रश्मिला नेपाली खबर सुनेलगत्तै धुलिखेल आइपुगेकी छन्। प्रहरीका अनुसार पोष्टमार्टम प्रक्रिया परिवारको जाहेरीपछि अघि बढाइनेछ।