नेपाली सेनाको २६ नम्बर बाहिनीद्वारा आयोजना गरिएको ‘बाहिनीपति ट्रफी’ प्रतियोगिता सुरु


काठमाडौँ  – नेपाली सेनाको २६ नम्बर बाहिनी भकुण्डेबेशीले आयोजना गरेको ‘बाहिनीपति ट्रफी’ प्रतियोगिता आइतबारदेखि सुरु भएको छ।

फुटबलमा धुलिखेलस्थित श्रीमेहेर गणले सिन्धुपाल्चोकस्थित इन्द्रध्वज गणलाई १–० गोलले पराजित गरेको छ। श्रीमेहेरका तर्फबाट श्रीजन बानिँयाले निर्णायक गोल गरेका थिए।

उद्घाटन समारोहमा २६ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी निर्जलबहादुर अधिकारीले खेलकुदलाई सैनिकको स्वास्थ्य र शारीरिक–मानसिक विकासको लागि आवश्यक भएको बताएका छन्। उनले खेलकुदले आत्मविश्वास अभिवृद्धि र टिम स्पिरिट कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, र एथलेटिक्सका विभिन्न विधाहरू (जस्तै ज्याव्लिङ थ्रो, लङ जम्प, सट जम्प, हाइजम्प, १००, २०० र ४०० मिटर दौड) समावेश छन्। फुटबल खेल धुलिखेलमा, भलिबल र बक्सिङ सिन्धुपाल्चोकको चौतारामा, र बास्केटबल तथा एथलेटिक्स भकुण्डेमा सञ्चालन हुँदैछ।

करीब चार सय खेलाडी सहभागी हुने प्रतियोगिता बुधबारसम्म चल्नेछ भने १८० वटा मेडल वितरण गरिने जनाइएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार