• २०८१ मङ्सिर ६ गते बिहिवार
  • Preeti To Unicode

अन्नपूर्ण संरक्षण क्षेत्र: एक महिनामै भित्रिए ३३ हजार भन्दा बढी पर्यटक


काठमाडौं ।  गत कात्तिक महिनामा अन्नपूर्ण संरक्षण क्षेत्रमा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन् ।  जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुकका २१ हजार छ सय ३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।

आयोजना प्रमुख डा रविन कडरियाका अनुसार गत साउनयता ८३ हजार ३१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । गत वर्ष सोही अवधिमा ६७ हजार चार सय ४२ जना पर्यटकले ‘एक्याप’को भ्रमण गरेका थिए । गत आवमा दुई लाख २२ हजार एक सय ८० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा चालु आवमा दुई लाख ५० हजारभन्दा बढी पर्यटक भित्रने अपेक्षा एक्यापको छ ।

गत असोजयता पर्यटकको आवागमन बढेको उनको भनाइ छ । असोजमा ३० हजार सात सय ३२ विदेशी पर्यटक उक्त क्षेत्र भ्रमणका लागि पुगेका थिए । जसमा एसियाली मुलुकका ११ हजार नौ सय ८५ र अन्य मुलुकका १८ हजार सात सय ४७ पर्यटक थिए । अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा यसवर्ष बढेको एक्यापले जनाएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरिएको छ । सडक र हवाई मार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक एक्यापका विभिन्न गन्तव्यस्थल पुग्ने गरेका छन् ।

हाल मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिएको छ । दोस्रो मुख्य पर्यटकीययाम सुरु हुँदासम्ममा यो वर्षको पर्यटक आवागमन उल्लेख्य मात्रमा बढ्ने अनुमान गरिएको छ ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङका अनुसार अन्नपूर्ण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार