24.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

करमैत्री वातावरण बन्दै

झापामा खर्चको अनुपातमा राजस्व सङ्कलन बढी रहेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा खर्चभन्दा रु एक अर्ब ३१ करोड आठ लाख ६८ हजार बढी राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका कोष नियन्त्रक मधु पोखरेलले जानकारी दिनुभयो ।

गत आवमा झापामा रु २३ अर्ब ३८ करोड ९६ लाख ३० हजार राजस्व सङ्कलन र रु २२ अर्ब सात करोड ८७ लाख ६२ हजार खर्च भएको उहाँले बताउनुभयो । “केही जिल्लामा खर्च धान्ने पनि राजस्व सङ्कलन हुनसकेको छैन”, उहाँले भन्नुभयो, “झापामा त्यस्तो अवस्था छैन, झापामा करमैत्री वातावरण बन्दै गएको छ ।”

झापामा करको दायरा बढाउने काम जारी रहेको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले बताउनुभयो । चालु आव २०७९÷८० मा आन्तरिक राजस्व कार्यालय भद्रपुरलाई रु तीन अर्ब ६९ करोड २० लाख ३१ हजार राजस्व सङ्कलनको लक्ष्य छ । चालु आवको असोजसम्ममा रु ६४ करोड २४ लाख ६५ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयको कार्यक्षेत्रमा करदाताको सङ्ख्यासमेत बढ्दै गएको उहाँको भनाइ छ । हाल करिब दुई लाख करदाता करको दायरामा आएका छन् । जसमा भद्रपुर कार्यालयअन्तर्गत एक लाख २६ हजार १६, करदाता सेवा केन्द्र इलामअन्तर्गत ३५ हजार चार सय ३७ र करदारता सेवा केन्द्र फिदिमअन्तर्गत २८ हजार पाँच सय २१ करदाता छन् ।

यसैबीच झापामा करदाता सप्ताह सुुरु भएको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले गरेको सो सप्ताहको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले उद्घाटन गर्दै कर्मचारीलाई करदातामैत्री बन्न आग्रह गर्नुभयो । उहाँले कर उठाउने संरचनामा सुधार गरिएको र कर उठाउने काममा धेरै काम भएको बताउनुभयो । “करको दायरा बढाउन निजी क्षेत्रलाई बृहत् परिचालन गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय लगानीमा ७० प्रतिशत योगदान निजी क्षेत्रको छ ।”

विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले व्यवसायीलाई कर शिक्षासम्बन्धी तालिमको आवश्यकता रहेको बताउनुभयो । उहाँले खुला सीमाका कारण व्यवसायी धेरै मारमा परेको गुनासो गर्नुभयो । झापा उद्योग सङ्घका अध्यक्ष यामबहादुर श्रेष्ठले कर तिर्नु भनेको देशको विकास भएको बताउनुभयो । “कर छल्नु ठूलो अपराध हो”, उहाँले भन्नुभयो, “कर तिरेरमात्र उपभोक्ताले उपभोग गर्नुपर्छ ।”

नेपाल चाटर्ड एकाउन्टेन्ट सङ्घ झापाका अध्यक्ष सुशील अग्रवालले करदाता शिक्षामा धेरै ठूलो समस्या रहेको औँल्याउनुभयो । करसम्बन्धी नयाँ योजना ल्याउँदा विशेषज्ञसँग छलफल गरेर ल्याउनुपर्ने उहाँको सुझाव छ । त्यस्तै अगुवा व्यवसायी गोविन्द पोखरेलले कर तिर्न निजी क्षेत्र तयार रहेको बताउँदै करको दरभन्दा पनि दायरा बढाउनुपर्नेमा जोड दिनुभयो ।

मङ्सिर १ गते सुुरु भएको कर सप्ताह ७ गतेसम्म सञ्चालन हुनेछ । सो अवसरमा कार्यालयले उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मानसमेत गर्ने भएको छ । भद्रपुर कार्यालयअन्तर्गत टे«डिङतर्फ कनिष्का ओभरसिज प्रालि मेचीनगर, उद्योगतर्फ अम्बे भवानी प्लाइबोर्ड उद्योग प्रालि विर्तामोड र सेवातर्फ ओमसाई पाथिभरा हस्पिटल भद्रपुरलाई सम्मान गर्ने भएको छ । इलामअन्तर्गत टे«डिङतर्फ फिक्कल उत्तम स्टोर र पाँचथरअन्तर्गत ट्रेडिङतर्फ शिवगौरी सप्लायर्स तथा सेवातर्फ ताप्लेजुङ बहुउद्देश्यीय सहकारीलाई सम्मान गर्न लागिएको प्रमुख कर अधिकृत रिजालले जानकारी दिनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles