• २०८१ मङ्सिर ६ गते बिहिवार
  • Preeti To Unicode

 उत्तरपश्चिम पाकिस्तानमा आक्रमणः आठ सैनिकको मृत्यु, सात प्रहरीको अपहरण


काठमाडौं । उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ सैनिकको मृत्यु हुनुका साथै सात प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एएफपीले मंगलबार जनाएको छ ।

खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा आठ सैनिक र नौ आतंकवादी मारिएको एक गुप्तचर अधिकारीले नाम नछाप्ने सर्तमा बताएका छन् । पाकिस्तानी तालिबान (टीटीपी)ले यस घटनाको जिम्मेवारी लिएको छ ।

तालिबानले प्रान्तमा भएको छुट्टै आक्रमणमा, एउटै चौकीका सात प्रहरी अधिकारी अपहरण गरेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार आक्रमणकारीहरूले अधिकारीहरूका हातहतियारहरू पनि जफत गरेका थिए । अफगानिस्तानसँगको सिमानामा टीटीपीको आक्रमण बढेको बताउँदै प्रहरी अधिकारी मुहम्मद जिया उद–दिनले घटनाको पुष्टि गरेका छन् ।तालिबान समूहले अक्टोबर–२५ मा दश प्रहरी अधिकारीहरूको हत्या गरेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार