27.1 C
Kathmandu
Wednesday, April 17, 2024
spot_img

कुहिँन थाले सामुदायिक वनमा काठ

पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिँदै जान लागेका छन् ।

सडक विस्तारका क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका तीन हजार आठ सय ३१ रुख काटेर सम्बन्धित सामुदायिक वनको घाटगददीमा राखिएका थिए । ती काठ दाउरा कुहिएर अहिले काम नलाग्ने अवस्थामा पुगेका हुन् ।

जिल्लाको सिख्रौली, शिसवार, र लामिचौर उपभोक्ता समितिअन्तर्गतका पाँच मध्यवर्ती वनमा काठ दाउरा करिब तीन वर्ष अगाडि काटेर राखिएको भए पनि सामुदायिक वन समितिले उपभोक्तालाई वितरण गर्न नपाउदा कुहिएर काम नलाग्ने अवस्थामा पुगेको कावासोती–१२ मा रहेको राजरत्न सामुदायिक वनका अध्यक्ष विष्णु लम्सालले बताउनुभयो । “सडक निर्माण कम्पनी या चितवन राष्ट्रिय निकुञ्ज कस्को कारणले रोकिएको हामीलाई जानकारी छैन, वनमा काठ कुहिएर काम नलाग्ने अवस्थामा छन्”, उहाँले भन्नुभयो ।

नारायणघाट बुटवल सडक आयोजना विस्तार गर्ने क्रममा रुखबाट निस्किएका काठ र दाउरा आफूहरुले सम्बन्धित सामुदायिक वनमा घाटगददीमा सुरक्षा गार्डको निगरानी राखेको भए पनि चितवन राष्ट्रिय निकुञ्जले आवश्यक प्रक्रिया ढिलो गरेका कारणले काठ र दाउरा सामुदायिक वनका उपभोक्ताले पाउन नसकेको सडक आयोजनाको कावासोती कार्यालयका आयोजना व्यवस्थापक राकेश झाले बताउनुभयो । “हामीले सुरक्षा गार्डसहित काठ र दाउरा सामुदायिक वनमा घाट गददीमा राखेका छौँ, सामुदायिक वनलाई हस्तान्तरण गर्न पटकपटक निकुञ्ज कार्यालयमा पत्रचार गरेका छौँ, वितरण कसरी गर्ने कहिले गर्ने यो निकुञ्जको जिम्मा हो”, उहाँले भन्नुभयो ।

सडक आयोजना विस्तारको क्रममा निर्माण कम्पनी, चितवन राष्ट्रिय निकुञ्ज र उपभोक्ता समितिसहितको बैठकले काटिएका रुखबाट निस्किएका काठ र दाउरा सम्बन्धित सामुदायिक वनलाई दिने गरी सहमति भएको बताउँदै सामुदायिक वनमार्फत उपभोक्तालाई काठ दाउरा वितरण गर्न आफूहरुले पहल गरिरहेको लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले बताउनुभयो । केही प्रक्रिया गत कुराले रोकिएको र छिट्टै उपभोक्ताले पाउने गरी वितरण हुने निकुञ्ज कार्यालयबाट आफूले जानकारी पाएको उहाँको भनाइ छ ।

रुख काटेर घाटगददी गरिएलगत्तै कोरोना कहर सुरु भएको हुँदा त्यो बेला वितरणको काम रोकिएको बताउँदै चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेशप्रसाद तिवारीले काठ दाउराको पुनः लगत सङ्कलन सुरु गरिएको जानकारी दिनुभयो ।

निर्माण कम्पनीले घाटगददी गर्दा आवश्यक मापदण्ड नअपनाएको र त्यो बेला काठ दाउरामा लगाइएका सङ्केत मेटिएकाले फेरि लगत सङ्कलन गरिएको उहाँको भनाइ थियो । लगत सङ्कलनको काम अन्तिम चरणमा पुगेको हुँदा निकुञ्ज कार्यालयमा अन्तिम प्रतिवेदन आउनासाथ सामुदायिक वनलाई काठ दाउरा हस्तान्तरणको काम अगाडि बढाइने सूचना अधिकारी तिवारीले बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles