• २०८२ कार्तिक ३ गते आइतवार
  • Preeti To Unicode

राप्रपाको निषेधित क्षेत्र तोड्ने घोषणा, सरकारले कडा चेतावनी जारी


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते आइतबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार सो दिन निषेधित क्षेत्रमा प्रवेश गर्दै सरकारविरुद्ध आक्रोश प्रकट गर्ने तयारी गरिएको छ।

राप्रपाले जारी गरेको कार्यक्रमअनुसार राजधानीका निषेधित क्षेत्रहरूमा सघन प्रदर्शन गर्ने, सामूहिक रूपमा गिरफ्तारीको सामना गर्ने र आन्दोलनलाई थप सशक्त बनाउने योजना रहेको छ। पार्टीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको रूप विस्तार गर्न लागेको जनाइएको छ।

यता, राप्रपाको चेतावनीलाई मध्यनजर गर्दै गृह मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ। मन्त्रालयले समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शान्ति र सुरक्षामा बाधा पुर्‍याउने, गैरकानुनी वा हिंसात्मक गतिविधिमा संलग्न हुनेहरूविरुद्ध कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। साथै, उनले सबै पक्षलाई संवैधानिक र लोकतान्त्रिक मर्यादा कायम राख्न आग्रह गर्दै शान्तिपूर्ण वातावरण बिथोल्ने प्रयास नगर्न अनुरोध गरेका छन्।

यसैबीच, संविधान र गणतन्त्रको रक्षाका लागि प्रमुख तीन दल—नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति बनेको छ। ती दलहरूले गणतन्त्र र लोकतान्त्रिक प्रणालीमा कुनै पनि किसिमको आघात सहन नसकिने भन्दै एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

राप्रपाको आक्रोश, सरकारको चेतावनी र दलहरूको एकताले हालको राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याएको देखिन्छ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार