• २०८१ मङ्सिर ६ गते बिहिवार
  • Preeti To Unicode

  पर्यटनमन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी 


काठमाडौं । कांग्रेस सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक क्यासिनोलाई इजाजत दिँदा ठूलो रकम घुस लिएको भनेर लगाएको आरोपप्रति माफी मागेका छन् । आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै क्षमा मागेका हुन् ।  बजगाईंले सामाजिक सञ्जालमै लेखेर पाण्डेले क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घुस लिएको आरोप लगाएका थिए ।

त्यसपछि मन्त्री पाण्डेले बजगाईंले आफूविरुद्ध बारम्बार कुप्रचारमा उत्रिएको भन्दै पार्टीमा उजुरी दिएका थिए । सोहीक्रममा मंगलबार अनुशासन समितिले बजगाईंलाई बोलाएको थियो । त्यसको भोलिपल्ट बजगाईंले माफी मागेका हुन् ।

बजगाईंले ट्विटरमा लेखेका छन् –’सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो l मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु l टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु,’  ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार