काठमाडौँ — अध्यागमन विभाग ले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकलाई खेलकुद गतिविधिमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ।
विभागले बिहीबार पत्राचार गर्दै पर्यटक भिसाको दुरुपयोग गरी विभिन्न क्लबहरूले विदेशी खेलाडीलाई मैदानमा उतारेको गुनासो प्राप्त भएपछि यस्तो चेतावनी दिएको जनाएको छ।
अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा लिएको हो, सो बाहेक अन्य काम गर्न पाउँदैनन्। तर एन्फाद्वारा सञ्चालित राष्ट्रिय महिला तथा पुरुष लिगमा पर्यटक भिसाधारी खेलाडी सहभागी भएको उजुरी परेपछि विभागले यस विषयलाई गम्भीर रूपमा लिएको हो।
विभागका निर्देशक टीकाराम ढकालद्वारा जारी पत्रमा विदेशी खेलाडी सहभागी गराउनुपरेमा अनिवार्य रूपमा कार्य सहमति र श्रम स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ।
विभागले आजैदेखि अनुगमन सुरु गरिसकेको जानकारी दिँदै तोकिएको प्रक्रिया पूरा नगरी वा भिसाको उद्देश्य विपरीत कुनै पनि विदेशी खेलाडी सहभागी भएको पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
यस विषयमा थप समन्वयका लागि विभागले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् लाई समेत जानकारी गराएको छ।