• २०८२ चैत्र १३ गते शुक्रवार
  • Preeti To Unicode

काठमाडौँमा सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण सुरु

काठमाडौँमा सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण सुरु

काठमाडौँमा सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु गरिएको छ। जमलस्थित तीनधारा पाठशाला मा चैत महिनाको तृतीयादेखि रथ बनाउन थालिएको हो, किनकि यस वर्ष जात्रा चैत १२ गते परेको छ।

वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रा काठमाडौँ उपत्यकाको महत्वपूर्ण धार्मिक परम्परा हो। मूर्तिलाई जनबहाल बाट खटमा राखी तीनधारा पाठशालामा तयार पारिएको रथमा प्रतिस्थापन गरिन्छ र त्यसपछि नगर परिक्रमा गराइन्छ। अन्तिम दिन लगनटोल मा रहेको मच्छिन्द्रनाथकी आमाको स्थान वरिपरि तीन पटक घुमाइएपछि रथयात्रा सम्पन्न हुने प्रचलन छ।

रथलाई बेतले बाँधिने गरिन्छ, जसलाई नेवारी भाषामा “पाउ” भनिन्छ। किंवदन्तीअनुसार जमल क्षेत्रमा खेत खन्ने क्रममा मच्छिन्द्रनाथको मूर्ति फेला परेको थियो। उक्त मूर्तिलाई घरमा राख्दा धान कहिल्यै नसकिने चमत्कार देखिएपछि अन्‍नदाता मानी जनबहालमा स्थापना गरिएको विश्वास गरिन्छ।

सेतो मच्छिन्द्रनाथ धार्मिक सहिष्णुताको प्रतीकका रूपमा चिनिन्छन्। शैवहरूले शिव, शाक्तहरूले शक्ति र बौद्धहरूले अवलोकितेश्वर का रूपमा पूजा गर्ने परम्परा छ। काठमाडौँ उपत्यकामा जमल, बनेपा र नालामा सेतो तथा ललितपुरको बुङमती र चोभारमा रातो गरी मच्छिन्द्रनाथका विभिन्न रूपहरू पूजिने गरिन्छ।

प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार