• २०८२ चैत्र १७ गते मङ्गलवार
  • Preeti To Unicode

सहकारीका साना बचतकर्तालाई राहत दिने तयारी, १०० दिनभित्रै रकम फिर्ता प्रक्रिया सुरु गर्ने लक्ष्य

सहकारीका साना बचतकर्तालाई राहत दिने तयारी, १०० दिनभित्रै रकम फिर्ता प्रक्रिया सुरु गर्ने लक्ष्य

काठमाडौँ । सरकारले सहकारीमा फसेका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने लक्ष्यसहित कार्यविधि निर्माणको काम अघि बढाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस सम्बन्धमा सरोकारवाला पक्षहरूसँग छलफल प्रक्रिया सुरु गर्न लागेको हो।

मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी कार्यसूची’ कार्यान्वयन गर्ने क्रममा मन्त्रालयले यो पहल थालेको हो। उक्त कार्यसूचीमा सहकारीका साना बचतकर्ताहरूको रकम फिर्ता प्रक्रिया छिट्टै सुरु गर्ने स्पष्ट उल्लेख गरिएको छ।

यसैक्रममा आवश्यक कार्यविधि तयार गर्न मन्त्रालयले ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’लाई पत्र लेखी छलफलका लागि बोलाएको छ। मन्त्रालयका शाखा अधिकृत दुर्गा पौडेलद्वारा हस्ताक्षरित पत्रमा स्पष्ट लिखित सुझावसहित बढीमा पाँच जना प्रतिनिधि सहभागी गराउन आग्रह गरिएको छ।

सरकारको यो कदमले लामो समयदेखि सहकारीमा बचत फसेर समस्यामा परेका साना बचतकर्ताहरूलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ। साथै, कार्यविधि तयार भएपछि रकम फिर्ता प्रक्रिया कसरी अघि बढाइने भन्ने विषयमा थप स्पष्टता आउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार