दर्शक बदलिए तर सिनेमा किन बदलिएन

दर्शक बदलिए तर सिनेमा किन बदलिएन

नेपाली चलचित्रको इतिहास हेर्दा एउटै कुरा स्पष्ट देखिन्छ—सपना देख्नेहरू सधैं थिए, तर ती सपना व्यवहारिक सीप र व्यावसायिक दक्षतामा रूपान्तरण गर्ने संरचना कहिल्यै भएन। दशकौंसम्म “सेटमा आऊ, हेर, बुझ, गर” भन्ने परम्पराले पुस्तौं तयार गर्‍यो। तर जानाजानी हासिल गरिएको सीप र बाध्यतामा गरिएको कामको भिन्नतालाई कहिल्यै मान्यता दिइएको थिएन। परिणाम स्वरूप ध्वनि कमजोर, पटकथा असंरचित, मेकअप अपरिपक्व र पोस्ट-प्रोडक्सन असमान रह्यो।

आजको पुस्ता सानो स्क्रिनमा कोरियाली थ्रिलर, स्प्यानिस ड्रामा र जापानी एनिमेसन हेर्दै हुर्किएकाले उच्च स्तरको कथा र प्राविधिक प्रस्तुती अपेक्षा गर्छ। केवल ‘मनलाग्दो कथा’ लिएर उभिन पर्याप्त छैन। कथा र प्रविधि—दुईवटै एकै सिक्काका पाटा हुन्; एउटा कमजोर भए अर्को जतिसुकै बलियो भए पनि दर्शकले ग्रहण गर्दैन।

चलचित्र विकास बोर्डले परम्परागत ‘के रोक्ने’ सोचबाट हटेर ‘के निर्माण गर्ने’ भन्ने प्रश्नलाई केन्द्रमा राख्दै चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष घोषणा गर्‍यो। यो तालिम केवल सीप सिकाउने कार्यक्रम मात्र होइन; पुरै उद्योगलाई व्यावसायिक संस्कार दिने प्रक्रिया हो।

तालिमका मुख्य क्षेत्रहरूमा ध्वनि, एआई फिल्ममेकिङ, ड्रोन, प्रोस्थेटिक मेकअप, पटकथा लेखन र घोडसवारी तथा पौडी समावेश छन्। ध्वनि तालिमले दृश्य र आवाजलाई यथार्थ र कलात्मक बनाउने क्षमता दिन्छ। एआई र ड्रोन तालिमले दृश्य सुरक्षित, कलात्मक र व्यावसायिक ढंगले क्यामेरामा उतार्न सहयोग गर्छ। मेकअपले पात्रको विश्वसनीयता कायम राख्छ भने पटकथा तालिमले कथा भन्नु शास्त्रीय अनुशासन र विज्ञानको रूपमा स्थापित गर्छ। घोडसवारी र पानीमुनि अभिनय तालिमले यथार्थता र अनुभवको स्तर उचाल्छ।

व्यक्तिगत दक्षता वृद्धि हुँदा कामको गुणस्तर सुधार हुन्छ, उद्योगको स्तर उन्नति हुन्छ, र अन्तर्राष्ट्रिय पहुँच प्राप्त हुन्छ। विदेशी बजारमा जानुपर्ने पुँजी र प्रतिभा नेपालमै रोकिन्छ। यो पहल ‘इम्पोर्ट सब्स्टिच्यूसन’ सिनेमाटिक अर्थमा लागू हुन्छ र आर्थिक तथा सांस्कृतिक लाभ ल्याउँछ।

चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष केवल तालिमको कार्यक्रम होइन; यो नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासको रणनीतिक कदम हो। पात्र, कथा, प्रविधि र प्रस्तुतीकरण—सबै पक्ष सशक्त बनेमा मात्र नेपाली चलचित्रले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्थायी स्थान बनाउन सक्छ।

प्रकाशित मिति : २०८२ चैत्र १८ गते बुधवार