भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बुधबारदेखि स्वचालित ब्यागेज ह्यान्डलिङ सिस्टम (BHS) सञ्चालनमा आएको छ। यसअघि जहाजबाट ओसारिएका झोला र लगेज कर्मचारीहरूले आगमन कक्षमा जम्मा गरेर यात्रुहरूले लिनु पर्थ्यो, जसले केही असुविधा दिने गरेको थियो।
नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले प्रणालीको शुभारम्भ गर्दै स्विच अन गरेपछि पहिलो यात्रुहरूले आफ्ना सामान यसबाट प्राप्त गरे। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार, करिब १ लाख २० हजार ७ सय ९३ अमेरिकी डलर खर्च गरेर जडान गरिएको यस प्रणालीले आगमन कक्षलाई व्यवस्थित र सुविधासम्पन्न बनाउनेछ।
साथै, केही समयभित्रै आगमन कक्षलाई वातानुकूलित (एसी) बनाउने काम पनि सुरु गरिनेछ। भैरहवाबाहेक धनगढी, नेपालगन्ज, जनकपुर र विराटनगर विमानस्थलमा पनि यस्तै प्रविधि लागू गरिएको छ।