काठमाडौं । सपना प्रधान मल्ल आजदेखि नेपालको कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश पाएपछि बरिष्ठतम न्यायाधीश मल्लले उक्त जिम्मेवारी सम्हालेकी हुन्।
नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ।
मल्ल १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी हुन्। उनले करिब एक दशकको कार्यकालमा लैंगिक न्याय, घरेलु हिंसा तथा संवैधानिक विषयमा महत्वपूर्ण नजिर स्थापित गरेकी छन्।
यसअघि नै न्याय परिषदले प्रधानन्यायाधीशका लागि योग्य ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो, जसमा सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन्।
तर हाल प्रतिनिधिसभाका प्रमुख पदहरू रिक्त रहेकाले संवैधानिक परिषद पूर्ण हुन सकेको छैन। त्यसैले नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन।
आगामी १९ गते संघीय संसदको अधिवेशन बसेपछि सभामुख, उपसभामुख तथा प्रमुख विपक्षी दलको नेता चयन हुने अपेक्षा गरिएको छ। त्यसपछि मात्र संवैधानिक परिषदले पूर्णता पाउने र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्नेछ।
को हुन् सपना प्रधान मल्ल?
सपना प्रधान मल्लले त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेकी छन्। उनले दिल्ली विश्वविद्यालय बाट कानूनमा स्नातकोत्तर तथा हार्वर्ड विश्वविद्यालय बाट जनप्रशासनमा स्नातकोत्तर गरेकी छन्।
उनी पूर्व संविधानसभा सदस्य समेत हुन् र संयुक्त राष्ट्रसंघको यातना विरुद्धको समितिमा विज्ञ सदस्यका रूपमा काम गरिसकेकी छन्। २०४५ सालदेखि कानून व्यवसायमा सक्रिय मल्लले २०६९ सालमा बरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेकी थिइन्।
यदि उनी पूर्णकालीन प्रधानन्यायाधीश नियुक्त भएमा ३० कार्तिक २०८५ मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउनेछिन्।