हेटौँडा सिमेन्ट उद्योगको उत्पादन मर्मतपछि पुनः सुरु

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन मर्मतपछि पुनः सुरु

मकवानपुरको हेटौँडा सिमेन्ट उद्योगमा आगो बाल्ने भट्टी (कोलमिल) को उपकरण बिग्रिएपछि रोकिएको उत्पादन आजबाट पुनः सुरु भएको छ। उद्योग व्यवस्थापनका अनुसार चैत १४ गते सात महिनापछि सिमेन्ट उत्पादन सुरु भए पनि भोलिपल्ट चैत १५ गते अपराह्न उपकरण बिग्रिएपछि उत्पादन रोक्नुपरेको थियो।

उद्योगले गएराति कोइला ढुवानी गरी आगो बालिसकेको छ र आजदेखि क्लिङ्कर उत्पादन र सिमेन्ट धुलो उत्पादन सुरु भएको जनाइएको छ। आगामी दुई महिनासम्म पुग्ने कोइला जगेडासमेत राखिएको छ भने बाँकी आवश्यक कोइला खरिदका लागि बोलपत्र आह्वान गरिएको छ। सहायक प्रबन्धक विकास श्रेष्ठका अनुसार आर्थिक अभावका कारण पटक–पटक उत्पादनमा अवरोध आएको थियो। उद्योगको दैनिक उत्पादन क्षमता १८ हजार बोरा भए पनि उपकरण जीर्ण हुँदा हाल दैनिक ११ हजार बोरा मात्र उत्पादन भइरहेको छ।

हेटौँडा सिमेन्ट उद्योग विसं २०३३ मा तत्कालीन श्री ५ सरकारद्वारा लामसुरे, हेटौँडामा स्थापना भएको थियो। विसं २०४३ मङ्सिर २६ गते तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले उद्योगबाट उत्पादित सिमेन्टको व्यावसायिक शुभारम्भ गरेका थिए। उद्योगबाट उत्पादन हुने सिमेन्ट काठमाडौँ, नेपालगञ्ज, पोखरा, हेटौँडा, वीरगन्जलगायत सहरमा बिक्री वितरण हुँदै आएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १८ गते बुधवार