✍️ एसईई नतिजा एक महिनाभित्र: अब उत्तरपुस्तिका परीक्षण केन्द्रबाटै✍️ एसईई नतिजा एक महिनाभित्र: अब उत्तरपुस्तिका परीक्षण केन्द्रबाटै

✍️ एसईई नतिजा एक महिनाभित्र: अब उत्तरपुस्तिका परीक्षण केन्द्रबाटै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण प्रणालीमा महत्वपूर्ण परिवर्तन गरेको छ । यस वर्षदेखि परीक्षा भएको केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गरिने भएको छ, जसले नतिजा छिटो सार्वजनिक गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको निर्देशन अनुसार एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको छ । सोही लक्ष्य पूरा गर्न परीक्षा केन्द्रमै परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका जाँच गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । जहाँ शिक्षक अभाव वा सुरक्षा चुनौती हुन्छ, त्यस्ता स्थानमा भने शिक्षा विकास तथा समन्वय एकाइमार्फत वैकल्पिक व्यवस्था गरिनेछ ।

यसअघि उत्तरपुस्तिका गोप्य रूपमा तोकिएका केन्द्रहरूमा पठाएर, कहिलेकाहीँ एक प्रदेशको कापी अर्को प्रदेशमा लगेर जाँच गर्ने प्रचलन थियो । तर नयाँ व्यवस्थाले यसलाई अन्त्य गर्दै प्रक्रिया छिटो र सहज बनाउने अपेक्षा गरिएको छ ।

अघिल्ला वर्षहरूमा एसईईको नतिजा असार दोस्रो सातातिर मात्र सार्वजनिक हुने गरेको थियो, जसले विद्यार्थीमा मानसिक तनाव बढाउने गरेको गुनासो थियो । ढिलाइका कारण ब्रिज कोर्स जस्ता कार्यक्रम सञ्चालन भई विद्यार्थीमाथि थप दबाब सिर्जना हुने गरेको थियो । यसलाई मध्यनजर गर्दै मन्त्रालयले यस्ता कार्यक्रमहरूमा रोक लगाउने निर्णय पनि गरिसकेको छ ।

यसैबीच, बोर्डले जनाएको अनुसार एसईई परीक्षा चैत १९ गतेदेखि सुरु हुँदैछ र सबै तयारी पूरा भइसकेको छ । देशभर १,९६६ परीक्षा केन्द्र कायम गरिएका छन्, जसमा एक केन्द्र जापानमा समेत रहेको छ । यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ र शान्तिपूर्ण तथा भयरहित वातावरणमा सञ्चालन गर्न बोर्डले सबै सरोकारवालासँग सहयोगको अपिल गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १८ गते बुधवार