प्रतिनिधिसभा बैठक आज, दलका नेताहरूले धारणा राख्ने

प्रतिनिधिसभा बैठक आज, दलका नेताहरूले धारणा राख्ने

काठमाडौँ — २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलो संसद् बैठक बस्दै छ। दिउँसो २ बजेका लागि तय गरिएको बैठकमा दलका शीर्ष नेता तथा संसदीय दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यक्रम छ। संसद्‌मा सबैभन्दा ठूलो दल रास्वपाबाट सभापति रवि लामिछानेले २५ मिनेटको समय पाउँदै सम्बोधन गर्नेछन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट भीष्मराज आङ्देम्बेले १० मिनेट, एमालेबाट रामबहादुर थापाले ८ मिनेट, नेकपाबाट वर्षमान पुनले ७ मिनेट, श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ ७ मिनेट, राप्रपाबाट ज्ञानबहादुर शाही ७ मिनेट र स्वतन्त्र सांसद महावीर पुनले पनि ७ मिनेट बोल्ने कार्यक्रम तय गरिएको छ। बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान पत्र वाचन गर्नेछन्। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा वालेन्द्र शाह नियुक्त भएको जानकारी दिनेछन् र शाह नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरूको विवरण पनि सभामा प्रस्तुत गरिनेछ। सभामुखको भूमिकामा रहेका केसीले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली २०७९ अनुसार काम गर्ने प्रस्ताव सभामा राख्नेछन्। गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची पनि तय भएको छ। प्रतिनिधिसभा २७५ सदस्यीय छ, जसमा रास्वपाबाट १८२, कांग्रेस ३८, एमाले २५, नेकपा १७, श्रम संस्कृति पार्टी ७, राप्रपा ५ र स्वतन्त्र सांसद महावीर पुन १ जना छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार