नेपाली वैज्ञानिकको अनुसन्धान : मेथीपानीले मधुमेह नियन्त्रण र छाला संरक्षण गर्छ

नेपाली वैज्ञानिकको अनुसन्धान : मेथीपानीले मधुमेह नियन्त्रण र छाला संरक्षण गर्छ

काठमाडौं — हाम्रो भान्सामा दैनिकजसो प्रयोग हुने मेथीलाई भिजाएर तयार पारिएको ‘मेथीपानी’ मधुमेह नियन्त्रण र छालालाई घामका हानिकारक पराबैंगनी (यूभी) किरणबाट जोगाउन प्रभावकारी हुने वैज्ञानिक रूपमा पुष्टि भएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूको टोलीले गरेको यस महत्वपूर्ण अनुसन्धान विश्वकै प्रतिष्ठित प्रकाशन समूह नेचर पोर्टफोलियो अन्तर्गत प्रकाशित हुने Scientific Reports जर्नलमा समावेश गरिएको छ।

नास्टको विज्ञान संकायअन्तर्गत रहेको ‘फिजिकल साइन्स ल्याबोरेटोरी’ का डा. दिपेन्द्र दास मुल्मीको नेतृत्वमा अनुसन्धानकर्ताहरू सद्दाम हुसेन, प्रमोद सुवेदी र विष्णु न्यौपानेसहितको टोलीले यो अध्ययन सम्पन्न गरेको हो।

विशेषतः, सम्पूर्ण अनुसन्धान नास्टकै प्रयोगशालामा उपलब्ध अत्याधुनिक उपकरणहरूको प्रयोगबाट गरिएको हो। अध्ययनका क्रममा यूभी–भिजिबल स्पेक्ट्रोस्कोपी, एक्स-रे डिफ्र्याक्टोमिटर (XRD) तथा फोरियर ट्रान्सफर्म इन्फ्रारेड स्पेक्ट्रोस्कोपी (FTIR) जस्ता प्रविधिबाट मेथीपानीका संरचनात्मक तथा प्रकाशीय गुणहरूको विश्लेषण गरिएको थियो।

अनुसन्धानका मुख्य निष्कर्ष

अध्ययनमा पहिलो, दोस्रो र तेस्रो दिनसम्म भिजाइएको मेथीपानीलाई विभिन्न चिनीको घोल (१२५, १५५ र १८५ मिलिग्राम प्रति डेसिलिटर), मधुमेहको औषधि तथा सनस्क्रिन क्रिमसँग अन्तरक्रिया गराएर परीक्षण गरिएको थियो।

नतिजाअनुसार, मेथीपानीले रगतमा चिनीको स्तर घटाउन सहयोग पुर्‍याउने देखिएको छ। चिनीको मात्रा बढ्दै जाँदा अवशोषण घट्ने र मेथीपानीको मात्रा बढाउँदा अवशोषण बढ्ने प्रवृत्ति पाइयो। यसमा हुने कोलाइडल अन्तरक्रियाले मधुमेह नियन्त्रणमा यसको सम्भावित उपयोगितालाई संकेत गर्दछ।

त्यसैगरी, मेथीपानीमा शक्तिशाली एन्टिअक्सिडेन्ट गुण रहेको पुष्टि भएको छ। सनस्क्रिन क्रिमसँग मिसाएर परीक्षण गर्दा यसको यूभी सुरक्षा क्षमता उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ। यसले मेथीपानीलाई प्राकृतिक सनस्क्रिन यौगिकका रूपमा प्रयोग गर्न सकिने सम्भावना देखाएको छ।

अनुसन्धानअनुसार, मेथी भिजाएको दोस्रो दिन यसको एन्टिअक्सिडेन्ट गतिविधि सबैभन्दा उच्च स्तरमा पुग्ने पाइएको छ, जसले औषधीय तथा सौन्दर्य प्रयोगमा यसको सम्भावनालाई अझ सुदृढ बनाएको छ।

यसका अतिरिक्त, मेथीपानीलाई रसायन विज्ञानमा ‘हरित उत्प्रेरक’ (Green Catalyst) का रूपमा प्रयोग गर्न सकिने सम्भावनासमेत अध्ययनले औंल्याएको छ।

अन्तर्राष्ट्रिय मान्यता र नेपालको सन्दर्भ

‘Scientific Reports’ जर्नल सन् २०२४ को जर्नल साइटेसन रिपोर्टअनुसार विश्वकै सबैभन्दा धेरै उद्धृत गरिने जर्नलमध्ये अग्रस्थानमा पर्दछ। यस जर्नलमा नेपाली वैज्ञानिकद्वारा स्वदेशमै गरिएको अनुसन्धान प्रकाशित हुनु नेपाली विज्ञान क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

अनुसन्धान टोलीका सदस्य प्रमोद सुवेदीका अनुसार यस्ता सफलताले नेपालमा विज्ञान तथा अनुसन्धान क्षेत्रमा थप लगानी र संस्थागत सहयोगको आवश्यकता र सम्भावनालाई उजागर गर्दछ।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार