काठमाडौं । नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनले शैक्षिक सत्रको सुरुवातसँगै विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई विपद्बाट बच्ने उपायसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । सम्भावित विपदीय घटनाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयले यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।
प्रशिक्षणका क्रममा भूकम्प, आगलागी, चट्याङ तथा हावाहुरीजस्ता आकस्मिक विपद् आइपर्दा कसरी सुरक्षित रहने भन्ने विषयमा नमुना अभ्यास गराइएको थियो । भूकम्पको काल्पनिक अवस्था सिर्जना गरी कक्षा कोठाभित्र विद्यार्थीले अपनाउनुपर्ने सावधानी, शिक्षकको भूमिका तथा सुरक्षित स्थानमा जाने तरिकाबारे सिकाइएको थियो ।
त्यस्तै, सुरक्षित स्थानको छनोट, त्यहाँसम्म पुग्ने विधि, कक्षाअनुसार विद्यार्थी जम्मा हुने स्थान निर्धारण लगायत विषयमा व्यावहारिक अभ्यास गराइएको थियो । अभ्यासका क्रममा घाइतेको प्राथमिक उपचार, खोजतलास तथा अन्य निकायसँग समन्वय गर्ने तरिकाबारे समेत जानकारी दिइएको थियो ।
नेपाल प्रहरीको विपद् व्यवस्थापनसम्बन्धी कार्यालयका दक्ष प्रशिक्षक, स्वास्थ्यकर्मी तथा विद्यालयका सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । साथै, शैक्षिक सत्र सुरु भएकै दिन ‘घर जस्तै सेवा, परिवार जस्तै हेरचाह’ भन्ने मूल नारासहित विद्यार्थीहरूको स्वास्थ्य जाँच कार्यक्रम पनि सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।