१६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन सिफारिस

१६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकामा पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि सिफारिस गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो। ट्राफिक प्रहरीका प्रवक्ता नवराज अधिकारीका अनुसार पटक–पटक कारबाहीमा पर्दा पनि अटेर गर्दै नियम उल्लङ्घन दोहोर्‍याउने चालकहरूमाथि कडा कदम चालिएको हो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स ६ महिनासम्म निलम्बन गर्न सकिने कानुनी व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार ट्राफिक प्रहरीले नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार पटक–पटक जरिवाना तिराउँदा पनि चालकहरूमा ट्राफिक नियम पालना गर्ने बानी विकास नभएकाले लाइसेन्स नै निलम्बन गर्ने प्रक्रिया अपनाइएको हो। लाइसेन्स निलम्बनमा परेका चालकहरूले ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन्। ट्राफिक प्रहरीको विश्वास छ कि यस कदमले काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्नेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार