• २०८३ जेष्ठ २६ गते मङ्गलवार
  • Preeti To Unicode

कांग्रेस विवाद समाधान प्रयास तीव्र, इतर समूहका शीर्ष नेतालाई सातबुँदे प्रस्ताव

कांग्रेस विवाद समाधान प्रयास तीव्र, इतर समूहका शीर्ष नेतालाई सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्षले संवादको दायरा विस्तार गरेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलबाट अपेक्षित नतिजा ननिस्किएपछि संस्थापन पक्षले इतर समूहका प्रभावशाली नेताहरूसँग पनि प्रत्यक्ष संवाद अघि बढाएको हो । मंगलबार बिहान डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई परिमार्जनसहितको सातबुँदे प्रस्ताव पठाइएको संस्थापन पक्षले जनाएको छ ।

यसअघि १६ जेठमा सभापति गगन थापाले सहमतिका लागि खड्कालाई सातबुँदे प्रस्ताव बुझाएका थिए । प्रस्तावबारे खड्काले प्रतिक्रिया नजनाएपछि सो प्रस्तावलाई परिमार्जन गरी इतर समूहका शीर्ष नेताहरूलाई पनि पठाइएको हो । २२ जेठमा उपसभापति विश्वप्रकाश शर्माले खड्कासँग झण्डै तीन घण्टा लामो छलफल गरेका थिए, जसबाट साझा सहमतिका केही आधार पहिचान भएको संस्थापन पक्षको दाबी छ । त्यसपछि २४ जेठमा थापा र शर्माले प्रस्तावमा थप संशोधन गरेका थिए । तर, सोही दिन खड्काले सामाजिक सञ्जालमार्फत सभापति थापासँग ३१ दिनदेखि कुनै संवाद नभएको अभिव्यक्ति दिएपछि संस्थापन पक्ष असन्तुष्ट बनेको बताइएको छ । यता, इतर समूहले जेठ मसान्तभित्र सहमति नभए १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । यसअघि नवीकरण भएका क्रियाशील सदस्यताका आधारमा अधिवेशनतर्फ जाने र आवश्यक परे देशव्यापी भेला आयोजना गर्ने तयारी इतर समूहले गरेको छ । शीर्ष तहमा विवाद समाधानका लागि प्रयास जारी रहे पनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार