• २०८३ जेष्ठ २६ गते मङ्गलवार
  • Preeti To Unicode

बैतडीका विद्यालयमा सेनेटरी प्याड अभाव: किशोरीहरूको स्वास्थ्य र पढाइमा समस्या

बैतडीका विद्यालयमा सेनेटरी प्याड अभाव: किशोरीहरूको स्वास्थ्य र पढाइमा समस्या

बैतडी-शिवनाथ गाउँपालिका – शिवनाथ गाउँपालिकाका अधिकांश विद्यालयमा किशोरीहरूको लागि अत्यावश्यक सेनेटरी प्याड पर्याप्त रूपमा उपलब्ध नहुँदा छात्राहरू महिनावारीका बेला समस्यामा परेको विद्यालय शिक्षकहरूले बताएका छन्।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा करिब १५ लाख रुपैयाँ खर्च गरी सेनेटरी प्याड खरिद गरेको भए पनि ती सामग्री नियमित रूपमा विद्यालयसम्म पुगेको थिएन। विद्यालयमा एकपटक मात्र वितरण भएको र त्यसपछि दुई वर्षसम्म आपूर्ति नहुँदा प्याडको अभाव गम्भीर भएको हो। केही विद्यालयमा पुरानो मौज्दातबाट प्याड केही समयका लागि मात्र वितरण भए पनि माघ महिनासम्म पुग्न सकेको शिक्षकहरूले बताए।

शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह मंगोलाका अनुसार, “केही समयदेखि प्याड सकिएका छन्। गाउँपालिकामा जानकारी गराएका छौँ, अब उपलब्ध गराउने तयारी भइरहेको सुनेको छु।” चन्द्रदेवल माध्यमिक विद्यालयकी शिक्षिका मिना साउँदले भने, “महिनावारीका बेला छात्राहरूलाई प्याड नहुँदा खाली हात फर्काउनु परेको छ, केहीले पढाइ छोडेर घर फर्किनुपर्ने अवस्था पनि आएको छ।”

स्थानीयस्तरमा विद्यालयका प्याडको म्याद सकिएर फालिएको र स्टोरमै राखिएका करिब ३०० प्याड गाउँपालिका परिसरभित्रै फोहोर व्यवस्थापन क्षेत्रमा विसर्जन गरिएको खुलेको छ। यसबारे शिक्षा शाखा प्रमुख दिनेश साउँदले आफूलाई जानकारी नभएको र प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्यले म्याद नाघेका कारण फालिएको बताए।

सरोकारवालाहरूले संवेदनशील सामग्रीको व्यवस्थापनमा लापरबाही भएको भन्दै छानबिनको माग गरेका छन्। वार्षिक आवश्यकता आकलन, समयमै वितरण, मौज्दात व्यवस्थापन र म्याद अनुगमन प्रणाली प्रभावकारी नहुँदा सार्वजनिक स्रोतको दुरुपयोग भएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार