बुटवल । रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर डाँडालाई जोड्ने लुम्बिनी केबलकारले सञ्चालनको तीन वर्षमा ५ लाखभन्दा बढी पर्यटकलाई सेवा दिएको छ। २०८० जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको केबलकारमा यात्रा गर्ने पर्यटकमध्ये झण्डै आधा भारतीय रहेको व्यवस्थापनले जनाएको छ। डेढ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको केबलकारले अब बसन्तपुरमा एक हजार क्षमताको बैंक्वेट हलसहित करिब साढे तीन अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माणको प्रक्रिया अघि बढाएको छ।
केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूका अनुसार विशेषगरी भारतको उत्तर प्रदेशका पर्यटकलाई लक्षित गरी होटल निर्माण गर्न लागिएको हो। हालको पर्यटक आगमनले सञ्चालन खर्च धान्न पर्याप्त नभएकाले भारतीय पर्यटकको संख्या बढाउने उद्देश्यसहित तीन वर्षभित्र होटल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। स्थानीय व्यवसायी र आईएमई समूहको लगानीमा निर्माण भएको केबलकार बुटवलको बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित बसन्तपुरसम्म करिब तीन किलोमिटर लामो छ। यो नेपालको दोस्रो लामो तथा लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो।केबलकार सञ्चालनमा आएपछि पहिले सुनसान रहने बसन्तपुर डाँडो अहिले प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। यहाँ प्रख्यात शक्तिपीठ कामाख्या देवी मन्दिर र सय वर्ष पुरानो दुर्गा मन्दिरको पुनर्निर्माण गरिएको छ। साथै जिप लाइन, स्काई साइकलिङ, बाल उद्यान, रेष्टुराँ र आधुनिक पिङलगायतका संरचना निर्माण गरिएका छन्। बसन्तपुरबाट बुटवल, तिलोत्तमा हुँदै भैरहवासम्मको दृश्यावलोकन गर्न सकिने तथा मौसम सफा हुँदा हिमश्रृंखला समेत देख्न सकिने भएकाले यो क्षेत्र आन्तरिक तथा भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको बसन्तपुरमा तराईको तुलनामा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम रहने गर्दछ। केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेका अनुसार धार्मिक, पर्यटकीय र प्राकृतिक आकर्षणसँगै प्रदूषणमुक्त वातावरणका कारण बसन्तपुर भारतको उत्तर प्रदेशलगायत क्षेत्रका पर्यटकको पनि रोजाइको गन्तव्य बनेको छ। अष्ट्रियाको डोपेलमायर कम्पनीले निर्माण गरेको यस केबलकारमा २५ वटा गोन्डला छन् र दैनिक ६ हजार यात्रु ओसारपसार गर्न सक्ने क्षमता रहेको छ। साथै, स्थानीय बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट र सर्वसाधारणलाई जन्मदिनमा निःशुल्क यात्रा सुविधा समेत प्रदान गरिएको छ।