कर विवादमा प्रधानमन्त्रीलाई समेत ताने अर्थमन्त्री वाग्ले, कानुनी प्रश्नमा मौन

कर विवादमा प्रधानमन्त्रीलाई समेत ताने अर्थमन्त्री वाग्ले, कानुनी प्रश्नमा मौन

काठमाडौं । करका दर हेरफेर र आर्थिक विधेयक संशोधन विवादबारे उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई समेत जोड्दै आफू र सरकारलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसदहरूले आर्थिक विधेयकमा भएको भनिएको हेरफेर तथा करका दरसम्बन्धी सूचना चुहावटबारे प्रश्न उठाएपछि वाग्लेले रास्वपाको म्यान्डेट स्वीकार्न नसकेको एउटा वर्गले प्रधानमन्त्रीलाई विवादित बनाउने र त्यसपछि अर्थमन्त्रीलाई निशाना बनाउने उद्देश्यले भ्रम फैलाएको दाबी गरे। उनले आफ्नो बजेट ऐतिहासिक रहेको जिकिर गर्दै करका दर हेरफेर र सूचना चुहावटसम्बन्धी विषयलाई “चियाको कपमा तुफान” बनाउन खोजिएको टिप्पणी गरे। तर आर्थिक विधेयकमा गरिएको भनिएको पाँच बुँदे ‘त्रुटि सुधार’ कुन कानुनी आधारमा संसद् सचिवालयमा पठाइएको हो भन्ने विपक्षी दलहरूको मुख्य प्रश्नमा भने उनले स्पष्ट जवाफ दिएनन्। प्रतिनिधिसभा नियमावलीअनुसार विधेयक संशोधनका लागि आवश्यक संसदीय प्रक्रिया सुरु नै नभएको अवस्थामा सचिवालयमा त्रुटि सुधारको पत्र पठाइएको विषयलाई लिएर विवाद चर्किएको छ। विपक्षी दलहरूले यसलाई विधि र प्रक्रियाविपरीत भएको आरोप लगाइरहेका बेला अर्थमन्त्री वाग्लेले भने आफूविरुद्धका आरोपलाई राजनीतिकरण गरिएको दाबी गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार