काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान Dipendra Singh Airee आईसीसी टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको प्रदर्शनका आधारमा बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार दीपेन्द्र एक स्थान सुधार गर्दै पाँचौंबाट चौथो स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक पनि हालसम्मकै उत्कृष्ट २५६ पुगेको छ ।
हालै सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोट प्रतियोगितामा नेपाली टोली अपराजित रहँदै च्याम्पियन बनेको थियो । उक्त प्रतियोगितामा दीपेन्द्रले ब्याटिङको सीमित अवसर पाए पनि प्रभावशाली प्रदर्शन गरेका थिए । उनले दुई इनिङ्समा ४० रन बनाउनुका साथै बलिङतर्फ ४ विकेट समेत लिएका थिए ।अलराउन्डर वरियतामा जिम्बाबेका Sikandar Raza शीर्ष स्थानमा यथावत् छन् भने भारतका Hardik Pandya दोस्रो स्थानमा रहेका छन् । त्यस्तै पाकिस्तानका Saim Ayub तेस्रो स्थानमा छन् । अफगानिस्तानका Azmatullah Omarzai भने चौथोबाट पाँचौं स्थानमा झरेका छन् ।