काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता र सामाजिक न्यायको दृष्टिबाट तयार पारेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको बताए।
विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट आएको आरोप लगाए पनि उनले त्यसलाई खण्डन गर्दै बजेटले समाजवादको स्पष्ट उल्लेख नभए पनि समताको एजेन्डालाई व्यवहारमा लागू गर्ने प्रयास गरेको बताए। उनले सरकारको पाँच वर्षे प्रतिबद्धता र जनताले अनुमोदन गरेको एजेन्डाप्रति दृढ रहेको उल्लेख गर्दै नीति, कार्यक्रम र बजेटबीच उच्च स्तरको संगति रहेको बताए। विपक्षी दलहरूले आफ्नो पार्टीको एजेन्डा अनुसार बजेट आएन भनेर गुनासो गर्न सक्ने भए पनि सरकारले आफ्नो वाचा अनुसार कार्यक्रम अघि बढाइरहेको उनले जोड दिए।