काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सुशासन, आर्थिक विकास र जनताको परिवर्तनको आकांक्षा पूरा गर्ने एजेन्डामा रास्वपासँग सहकार्य गर्न तयार रहेको सन्देश दिएका छन्। नेकपा नेता वर्षमान पुनले माओवादी र रास्वपा दुवै परम्परागत राजनीतिक निरन्तरताको क्रम तोडेर उदाएका शक्ति भएको उल्लेख गर्दै सुशासनको एजेन्डामा दुई दलबीच निकट सहकार्य रहेको बताए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछि बनेको राजनीतिक ‘सेटिङ’ तोड्ने लक्ष्यमा समानता रहेको धारणा राखे भने जनमत पार्टीका अध्यक्ष सीके राउतले रवि लामिछानेमाथिको सहकारी ठगी आरोपलाई राजनीतिक प्रतिशोध भन्दै समर्थन गरेको स्मरण गरे। उनले लामिछानेलाई भविष्यमा देशको नेतृत्व गर्न सक्ने नेताका रूपमा समेत चित्रित गरे। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानका त्रुटि सच्याउँदै गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितालाई अझ बलियो बनाउने दिशामा सरकार अघि बढे साथ रहने बताए। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि रास्वपाले प्राप्त जनादेशको सम्मान गर्दै अझै १५–२० वर्ष सरकार सञ्चालन गर्ने शुभकामना व्यक्त गर्दै आफूले सुरु गरेको वैकल्पिक राजनीतिक अभियानको संस्थागत रूप रास्वपा बनेको टिप्पणी गरे।