सभामुखसँग सांसद राजेन्द्र राईको विवाद, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

सभामुखसँग सांसद राजेन्द्र राईको विवाद, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राई र सभामुख डोलप्रसाद अर्यालबीच भनाभन भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ। राईले बोल्न सुरु गर्नेबित्तिकै सभामुखलाई सम्बोधन गर्दै “तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?” भनेपछि सभामुख अर्यालले उक्त अभिव्यक्ति सभाको मर्यादा विपरीत भएको भन्दै उनलाई अघि बोल्न नदिई माइक बन्द गराएका थिए।

त्यसपछि सभामुखले अर्को सांसदलाई बोल्ने समय दिए पनि एमाले सांसदहरूले उभिएर विरोध जनाएका थिए। यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले नियमापत्ति उठाउँदै सभामुखको आचरणमाथि नियमअनुसार मात्र प्रश्न उठाउन सकिने व्यवस्था स्मरण गराउँदै राईको अभिव्यक्ति रेकर्डबाट हटाउने वा अभिलेखमै राख्ने विषय उठाइन्।

पछि सभामुखले भाषा सुधार्ने र आवश्यक परे क्षमायाचना गर्ने अपेक्षासहित राईलाई पुनः बोल्ने अवसर दिएका थिए। तर दोस्रो पटक पनि राईले सभामुखलाई “आत्तिनुभएको” भन्दै टिप्पणी गर्दै “यस्तै पारा हो भने पाँच वर्ष सभामुख चलाउनुहुन्न, मैले तपाईंको खुट्टी हेरिसकेको छु” भन्ने अभिव्यक्ति दिएका थिए। त्यसलगत्तै सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार