काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनाहरूको व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिसक्नुपर्ने अन्तिम मिति (आरसीओडी) थप्ने विषयमा सरोकारवालाको बैठक बोलाएका छन्। बैठक आज दिउँसो ३ बजे नेपाल विद्युत् प्राधिकरणमा बस्नेछ, जहाँ प्राधिकरणका प्रबन्ध निर्देशकसहित पदाधिकारी तथा आरसीओडीको चरणमा रहेका करिब ७० जलविद्युत् कम्पनीमध्ये प्राथमिकतामा परेका आयोजनाका प्रतिनिधिहरू सहभागी हुनेछन्। आरसीओडी भनेको व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिसक्नुपर्ने निर्धारित अन्तिम मिति हो। प्राकृतिक प्रकोप वा अन्य कारणले तोकिएको समयसीमा नाघेका जलविद्युत् आयोजनाहरूको अवस्था वर्गीकरण गरी आवश्यक आधारमा आरसीओडीको म्याद थप्ने विषयमा बैठकमा छलफल हुने जनाइएको छ।