राप्रपाले महाधिवेशनका लागि गठन गर्‍यो मूल आयोजक समिति

राप्रपाले महाधिवेशनका लागि गठन गर्‍यो मूल आयोजक समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि २८ गतेसम्म हुने महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरेको छ। पार्टीको आज बसेको कार्यसम्पादन समितिको बैठकले महाधिवेशन सफल बनाउन विभिन्न जिम्मेवारीसहितका समितिहरू गठन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति गठन गरेको छ। त्यस्तै उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा तथा जुलुस व्यवस्थापन समिति, उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति र उपाध्यक्ष हेमजङ गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरिएको छ।

यसैगरी महामन्त्री भुवन पाठकको संयोजकत्वमा समारोह व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र गुरुङको संयोजकत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति र कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ।

राप्रपाका अनुसार गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समिति, कार्यसम्पादन समिति सदस्य डा. विष्णु भण्डारीको संयोजकत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति तथा प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ।

त्यस्तै केन्द्रीय सदस्य दीपक रञ्जितको संयोजकत्वमा शान्ति सुरक्षा तथा व्यवस्थापन समिति, केन्द्रीय सदस्य इन्जिनियर सजिना कार्कीको संयोजकत्वमा स्वास्थ्य समिति र केन्द्रीय सदस्य ध्रुवविक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ। महाधिवेशनका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई स्वागतद्वार व्यवस्थापन समितिको जिम्मेवारीसमेत दिइएको राप्रपाले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार