महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी घोषणा, युवाको प्रतिनिधित्व गर्ने दाबी

महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी घोषणा, युवाको प्रतिनिधित्व गर्ने दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष उदयशमशेर राणाले पार्टीको आगामी १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राणाले कांग्रेसलाई थप गतिशील र सुदृढ बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको बताएका हुन्। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सिङ्गो तरुण पुस्ताको प्रतिनिधित्व गर्दै महामन्त्रीको दौडमा होमिएको स्पष्ट पारे। तरुण दलको नेतृत्व गर्दा ललितपुरमा कांग्रेसले हासिल गरेको चुनावी सफलतालाई स्मरण गर्दै राणाले आफ्नो कार्यक्षमता, राजनीतिक अनुभव र स्वच्छ छविलाई उम्मेदवारीको मुख्य आधारका रूपमा प्रस्तुत गरे। पार्टीभित्र देखिएको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्दै सबै पक्षलाई मूलधारमा समेटेर अघि बढ्न आफू सक्षम रहेको उनको दाबी छ। उनले जिल्ला तथा प्रदेश तहका नेता–कार्यकर्ता र तरुण दलका साथीहरूलाई आफ्नो उम्मेदवारी सफल बनाउन सक्रिय हुन आग्रह गरे। कार्यक्रममा राणाले आफू तरुण दलको पूर्वअध्यक्ष तथा युवाहरूको प्रतिनिधिका रूपमा उम्मेदवारी दिएको उल्लेख गर्दै तरुण साथीहरूको साथ नै आफ्नो मुख्य शक्ति भएको बताए। उनले तरुण दलको अध्यक्ष हुँदा ललितपुरमा कांग्रेसलाई ‘क्लिन स्विप’ गराएको अनुभवलाई आगामी नेतृत्वका लागि महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे। साथै, पार्टीभित्र युवाहरूको ऊर्जा संगठित गर्दै वैचारिक तथा सांगठनिक सुधार अघि बढाउन आफू सक्षम रहेको दाबी गर्दै कांग्रेसलाई नयाँ पुस्ताको अपेक्षाअनुसार थप सशक्त र गतिशील बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार